श्रावण १७, काठमाडौं । नेपाल प्रहरीका पूर्व अवकास प्राप्त प्रहरी महानिरीक्षक कुवेर सिंह रानासँग भेटघाट तथा आशिर्वाद लिनुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा अग्रजहरुले मार्गदर्शनका लागि निर्वाह गरेको भूमिकाको सराहना गर्दै बहालवाला र पूर्व प्रहरी कर्मचारीहरुको हित हुनेगरी प्रहरी कोषबाट नयाँ कार्यक्रमहरु संचालन गरिने बताउनुभयो । संघीयतामा नेपाल प्रहरीको भूमिकाबारे चर्चा गर्दै उहाँले तत्काल देखिने असर र गहनता बुझेर पूर्ण जिम्मेवार भई व्यवस्थापन गर्दै सफलता हासिल गर्न लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रहरी संगठनको थप सुदृढिकरण एवम् आन्तरिक शुद्धिकरण गर्दै जनअपेक्षित सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षकले शान्ति सुरक्षा कायम गर्ने तथा अपराधको अनुसन्धानमा एक व्यक्तिको भन्दा सामुहिक प्रयासमा सफलता हासिल हुने विचार व्यक्त गर्दै प्रविधिबाट सिर्जित अपराध नियन्त्रणका लागि प्रहरीले उपलब्ध नविनतम प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो । साथै विध्वंसात्मक गतिविधि नियन्त्रणमा थप सजग एवम् सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
एक प्रहरी कर्मचारीले सिङगो प्रहरी संगठनको प्रतिनिधित्व गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षकले गौरवमय इतिहास बोकेको प्रहरी संगठनको छविलाई थप उचाईमा लैजान सबै प्रहरी कर्मचारीहरुले आपसी भातृत्वभावमा थप सुधार गर्दै नयाँ उत्साह, उच्च मनोबल, जिम्मेवारीप्रतिको पूर्ण जवाफदेहिता सहित दत्तचित्त भएर सुम्पिएको जिम्मेवारी पूरा गर्न लागि पर्ने पनि बताउनु भयो ।
व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको हिततर्फ केन्द्रित भई आफूले प्राप्त गरेको अनुभव, कार्यदक्षताको आ(आफ्नो कार्यक्षेत्रमा उचित प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । प्रहरी कर्मचारीहरुको वृत्तिविकासमा संगठन सदैव क्रियाशील रहेको बताउँदै उहाँले सबै प्रहरी कर्मचारीहरुले नयाँ शिराबाट थप उपलब्धी हासिल हुनेगरी कार्यक्षेत्रमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । भुलबस हुने त्रुटी हटाउँदै कमजोरी सुधार्ने सबैको दायित्व रहेकोले थप सजगता अपनाउनुपर्ने विचार व्यक्त गर्दै उहाँले नियतबस गरिएका गल्ती क्षम्य नहुने बताउनुभयो ।
प्रहरीको गतिविधि एवम् हरेक क्रियाकलाप, कार्यसम्पादनको स्तरप्रति नागरिक सचेत रहने हुँदा प्रहरी कर्मचारीहरुले आफ्नो कार्यशैलीको स्तरोन्नति गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीले अंगिकार गरेको समुदाय(प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धमा सुधार गर्नुकोसाथै प्रहरीको व्यवहारमा सुधार एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका रहने हुँदा आवश्यक सूचना संकलन तथा प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।