साउन१७,काठमाडौँ । आज बकर ईद इस्लाम धर्मावलम्बीहरुको महान पर्व मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।
आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । कोरोना भाइरस संक्रमणको जोखिम भएकाले घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आग्रह गरेको छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।