• २०८१ मङ्सिर २२ गते शनिवार

योगेश भट्टराई पर्यटन मन्त्री,को हुन् योगेश भट्टराई ?

पढ्न लाग्ने समय : ४ मिनेट

साउन १५,काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

को हुन् योगेश भट्टराई ?

भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनु भएको हो ।

साँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि योगेश संखुवासभाको मादी माविमा भर्ना हुनुभयो, जहाँ पुग्न उहाँको गाउँबाट दुई दिनको पैदलयात्रा गर्नुपथ्र्यो । गाउँमा माध्यमिक विद्यालय नभएका कारण २०३७ सालमा उहाँ मादी पुग्नुभएको थियो ।

२०३६ सालको विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले हामहडताल गर्‍योे ।

नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उहाँ सक्रिय रूपमा सहभागी हुनुभयो । संगठित हिसाबले उहाँको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो । उहाँ सम्झनुहुन्छ, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हडताल गर्‍यौं ।’ स्वविवेकले आन्दोलनमा होमिनुभएका योगशले स्कुले जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाउनुभयो ।

एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिनुभयो । सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन उहाँलाई धेरै समय लागेन । छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित हुनुभयो । २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी हुनुभयो । देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको त्यो मञ्चमार्फत उहाँको राजनीतिक यात्राले एउटा उचाइ प्राप्त गरिसकेको थियो ।

पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उहाँले थुप्रैपटक जेलनेल र कठोर यातना भोग्नुपर्‍यो । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर पाउनुभयो, जसबाट राजनीतिक यात्रालाई अझ निखर बनाउन सहयोग पुग्यो ।

यही क्रममा उहाँले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हाल्नुभयो । आन्दोलन र राजनीतिक जिम्मेवारीसँगसँगै उहाँले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहनुभएको थियो । त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तरसमेत गर्नुभयो ।

पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय गर्ने सिलसिलामा २०४३ सालमा भएको निर्वाचनमा केही समय काठमाडौंमा र बाँकी समय ताप्लेजुङका सम्मानित व्यक्तित्व अम्बिका साँवाको चुनावी अभियानमा बिताउनुभयो । जनपक्षीय उम्मेदवार साँवाको चुनाव प्रचारका क्रममा रातिराति साथीभाइसँग संगठन गर्दै जनताको घरआँगनमा मकैभटमास खाँदै हिँडेको सम्झना अहिले पनि उहाँसँग ताजै छ । साँघुमा चुनाव प्रचार गरिरहेको बेला २०४८ साल वैशाख १० गते सिनाममा एमालेका कार्यकर्ता क. इन्द्र थेबे र क. रुकमान थेबे हत्याको खबर सुन्नुपर्‍यो । हत्याको खबरले उहाँलाई दुखित त बनायो तर त्यसलाई अझ शक्तिका रूपमा ग्रहण गर्दै अघि बढ्नुको विकल्प थिएन । उहाँले त्यसै गर्नुभयो ।

उतिखेर साँघुमा माध्यमिक र उच्च शिक्षा शिक्षा नभएक कारण योगश संखुवासभाको मादी हुँदै काठमाडौं आउनुभयो । तर, ताप्लेजुङसँगको सामीप्य र ताप्लेजुङका जनताको सम्बन्ध भने सधैं कसिलो रह्यो । देशको आशाको अनुहार त हुँदै हुनुहुन्छ, ताप्लेजुङ र ताप्लेजुङे जनताको असल अभिभावकको भूमिकासमेत उहाँले निरन्तर निर्वाह गरिरहनुभएको छ ।

ताप्लेजुङको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै होइन, सकेसम्म जिल्लामा भएका अभियानमा समेत उहाँ सधैं सक्रिय सहभागी हुनुभयो । ताप्लेजुङको समग्र विकासका निम्ति उहाँहरूकै सक्रियता र अगुवाइमा २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भयो । उहाँ त्यसका संस्थापक महासचिव हुनुहुन्थ्यो, जसले ताप्लेजुङको विकासका लागि केन्द्रीय तहमा उहाँकै नेतृत्वमा बहसहरू सुरु गर्‍यो ।

प्रतिक्रिया दिनुहोस