जेठ १७, पोखरा । स्वर्गिय रबिन्द्र अधिकारीको नाममा स्थापना गर्न लागिएको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शनिबार औपचारिक घोषणा गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जेठ १८ गते शनिबार पोखरा सभागृहमा एक कार्यक्रम गरि प्रतिष्ठानको औपचारिक घोषणा गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा रवीन्द्र अधिकारीकी धर्मपत्नी एवं प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले स्वर्गीय अधिकारीले राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै अधिकारीलाई चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना गर्न लागिएको बताइन । राज्यलाई अनुसनधानात्मक काममा सहयोगको लागि प्रतिष्ठान सधैं लागिरहने उनको भनाई छ । मानव स्रोत संशाधनको विकास गरी सिप तथा अनुसन्धानमुलक काम गर्न प्रतिष्ठान लागिरहने उनले जानकारी दिईन् ।
प्रतिष्ठानका महासचिव धनराज आचार्यले प्रतिष्ठान गैर नाफामुलक संस्था रहेको र यसमा ३ किसिमका सदस्यता रहने जानकारी दिए ।साधारण सदस्यको लागि ५ सय रुपैयाँ, आजीवन सदस्यको लागि ५ हजार रुपैयाँ रहनेछ । जसमा ३ हजार ५ सय रुपैयाँ सहयोग रहनेछ । विशिष्ट सदस्यको लागि १ लाख रुपैयाँ शुल्क लाग्ने पनि आचार्यले बताए । प्रतिष्ठानका उपाध्यक्ष तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले अन्य प्रतिष्ठान भन्दा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान फरक रहने बताए ।