• २०८२ बैशाख १७ गते बुधवार

कोठामा थुनिएपछि शिक्षकले विद्यार्थी कुटे

पढ्न लाग्ने समय : २ मिनेट

सल्यान – सल्यानमा एक विद्यालयमा शिक्षक कक्षाकोठाभित्र थुनिएपछि विद्यार्थीमाथि कुटपिट भएको छ । 

जिल्लाको कुमाख गाउँपालिका–२, रुमाल गाउँमा रहेको नारायण माविमा कक्षा १० मा अध्यानरत छात्र राजु हमाललाई त्यसैले विद्यालयका शिक्षक हिमबहादुर बुढाले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको परिवारले आरोप लगाएको छ । आउँदै गरेको एसईईको तयारीका लागि कोठा लिएर पढ्दै गरेका विद्यार्थीलाई बुधबार कोठामै गएर शिक्षकले बाँसको लठ्ठीले कुटपिट गरेर घाइते बनाएको पीडित विद्यार्थीका बुवा गनेश हमालले बताउनुभयो । 

घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको र स्वास्थ्यमा समस्या देखिएकाले थप उपचारका लागि परिवारले बाहिर लैजाने तैयारी गरी रहेको प्रहरीले जनाएको छ । विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई अस्थाई प्रहरी पोष्ट नेटाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो। 

यता विद्यालयका प्रधानध्यापक देवेन्द्र रावते विद्यार्थीमाथि कुटपिट भएको स्वीकार गर्नुभएको छ । ‘कक्षा १० को ट्युसन पढेर विद्याथीहरु घर फर्किँदा विद्यालय कक्षाकोठा बन्द गर्ने क्रममा शिक्षक भित्रै थुनिएका रहेछन्’, प्रअले भन्नुभयो, ‘अन्तिममा रहेका विद्यार्थी राजु हमालले कक्षा कोठाकोठा बाहिरबाट बन्द गरेका रहेछन्, शिक्षक भित्र छन् भन्ने थाहा नपाएका उनले ढोका बन्द  गरेर आप्mनो कोठा तिर लागेछन् । पछि शिक्षकले थाहा पाएपछि रिसको झोँकमा विद्यार्थीकै कोठामा गएर कुटेको थाहा पाएँ ।’ 

अहिले यस विषयमा विद्यालय व्यवस्थापन समिति र पीडित पक्षबीच छलफल भैरहेको विद्यालय स्रोतले जनाएको छ । 
 पुरुषोत्तम गिरी ujyaaloonline बाट साभार

प्रतिक्रिया दिनुहोस