माघ १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा हजाराैँ जनता सहभागी भइरहेका छन् भने हजारौँ युवा नेकपाप्रति आकर्षित बनिरहेका छन् ।
हालै नेकपाको स्थायी समितिले गरेको निर्णयअनुसार देशैभरि २१ वटा केन्द्रीय अभियान टोली परिचालित छन् । संसदीय पार्टीहरू संसद्मा कुर्सीका लागि लुछाचुँडी गरिरहेको बेला नेकपाका नेता–कार्यकर्ताहरू भने अभियान लिएर गाउँगाउँमा जनताका घरआँगनमा मात्र गएका छैनन्, नेपाल–भारत सीमाक्षेत्रमा काँढेतार लगाउन पुगेका छन् ।
नेकपाले आफूलाई एउटा सशक्त क्रान्तिकारी शक्तिका रूपमा आफूलाई स्थापित गरिरहेको बेला मानिसहरूले एउटा आशा र भरोसाको आँखाले हेरेको बुझिन्छ । परिणामस्वरूप नेकपाले सञ्चालन गरेको अभियानमा दर्जनौँ गाउँका सयौँ जनता नेकपामा प्रवेश गर्ने लहर बढिरहेको छ ।
यसैबीच तत्कालीन जनयुद्धको आधार क्षेत्र मानिने अछाम, कालीकोट, जाजरकोट, रुकुम, रोल्पा, पश्चिमका कैलाली, दाङलगायत जिल्लाका मानिसहरू नेकपामा प्रवेश गर्ने लहर बढदो छ ।
सोमबार मात्र पूर्वमाओवादी केन्द्रको वर्चस्व रहेको अछामको एउटा गाउँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ । पूर्वमाकेका कर्णबहादुर थापालगायत सिङ्गो वडा समिति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको हो ।
पूर्वमाओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार मङ्गलसेन नगरपालिका १३ का कर्णबहादुर थापालगायत सिङ्गो वडा समिति नेकपामा प्रवेश गरेको हो । नवप्रवेशीहरूलाई उक्त पार्टीका केन्द्रीय सदस्य तथा अभियान टोली प्रमुख बन्धु चन्दलगायतको अभियान टोलीले स्वागत गरेको छ । सोही ठाउँमा कर्णबहादुर थापाकै नेतृत्वमा नेकपाको सङ्गठनसमेत गठन गरिएको छ ।
बन्धु चन्दको नेतृत्वमा चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी, कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’ लगायत ३९ जनाको अभियान टोली अछामका गाउँगाउँमा पुगी व्यापक भेटघाट, छलफल र विभिन्न कार्यक्रमहरू गर्दै निरन्तर रूपमा अभियान तीव्र रूपमा अघि बढाइरहेका छन् । अभियानले पार्टी र जवस मोर्चा गठन गर्दै गैरहेको र हालसम्म २४ वटा समिति गठन गरिएको जानकारी अभियान टोली सदस्य आक्रोश भण्डारीले दिएका छन् ।
यसैबीच सोमबार नै जाजरकोटको नलसिंहगाड गाउँपालिकामा पर्ने एउटा सिङ्गो गाउँ नै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ । त्यहाँ चलिरहेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ केन्द्रीय अभियानअन्तर्गत उक्त गाउँ नेकपामा प्रवेश गरेको हो ।
नवप्रवेशीहरूलाई नेकपा सल्यानका सेक्रेटरी तथा जाजरकोटमा परिचालित अभियान टोली प्रमुख महेन्द्रलगायतले स्वागत गरेका थिए । सिउनाको वडा नं १२,१३ बाट पूर्वमाओवादी केन्द्र र एमालेका ६२ जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
जाजरकोटमा ५ वटा टिम बनेर अभियानमा परिचालित भएका छन् । महेन्द्र, अनन्त, रमण, नरेन्द्रलगायतले अभियान टोलीको नेतृत्व गरिरहेका छन् । अभियानमा जाजरकोट पुगेका नेकपा सल्यानका सेक्रेटरी महेन्द्रले जाजरकोटका विगत बस्तीहरू खदी गोताम, रावतगाउँ घरङ्गालगायत ठाउँहरूमा अभियान लिएर जनतामा पुग्दा त्यहाँ आफ्नो पार्टीप्रति नै जनताले आशा गरेको बताए ।
उनले भने, ‘हामी विकट बस्तीहरूमा निकै चिसो मौसममा पनि अभियान लिएर जनतामा पुगिरहेका छौँ । जनताले हामीलाई देशमा परिवर्तन गरे तपाईंको पार्टीले मात्र हो । अरू कुनै संसदीय पार्टीले केही गर्नेवाला छैनन् भन्ने गरेका छन् । हाम्रो पार्टीमा विश्वास गरेका छन् ।’
जाजरकोटको पूर्वीउत्तर विकट बस्ती रावतगाउँमा पुगेर तत्कालीन जनमुक्तिसेनाका विग्रेड कमान्डर जितका बुबालाई भेटेका अभियान टोली कमान्डर महेन्द्रले सहिद जितका बुबाले आफ्नो पार्टीलाई क्रान्ति अघि बढाउन र विजयमा पु¥याउने अभियानका लागि शुभकामना दिएको खबर टेलिफोनमार्फत रातो खबरलाई दिए ।
साथै महेन्द्रले आफू नेतृत्वको अभियान टोलीले मात्र १५ जना युवालाई पूर्णकालीन कार्यकर्ता बनाएको बताए । ग्रामीण भेगका दूरदराज बस्तीमा अभियान लिएर गएको, त्यस्ता ठाउँहरूमा टेलिफोन सुविधा पनि नरहेको र अभियान उत्साहपूर्वक अघि बढिरहेको अवस्थाको जानकारी गराउँदै जनतामा अभियान लिएर जाँदा एक खालको उत्साह थपिएको अनुभव अभियानकर्मीहरूले बताएका छन् ।
उता कैलालीमा पनि पूर्वमाओवादी केन्द्रका २१ जना नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आइतबार जिल्लाको बर्दगोरिया गाउँपालिकामा आयोजित कार्यक्रममार्फत उनीहरू नेकपामा समाहित भएका हुन् ।
यसअघि दाङमा पनि डुरुवामा पर्ने एउटा सिगो गाउँ समिति नै नेकपामा प्रवेश गरको थियो । देशैभरि आफ्नो पार्टीमा समाहित हुनेहरू बढिरहेको नेकपाका नेता–कार्यकर्ताहरूले बताएका छन् ।
-इरातोखबरबाट