• २०८० फाल्गुन १० गते बिहिवार

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएकाे बढी शुल्क फिर्ता गर्न अझै आनाकानी

पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर १४, काठमाडौँ  । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्त तथा बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकले अझै आनाकानी गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच मङ्गलबार शुल्क फिर्ता गर्ने विषयमा सहमति भए पनि कुनै मेडिकल कलेजले फिर्ता गरेको छैन । बुधबार नै शुल्क फिर्ता गर्ने भनिएको थियो । मन्त्रालय र मेडिकल सञ्चालकहरूबीच भएको दुई बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थी आन्दोलनरत छन् । विद्यार्थीका लागि दुई बुँदे सहमति ‘कागलाई बेल पाग्यो हर्ष न बिस्मात्’ जस्तै भएको छ ।

चितवन मेडिकल कलेजका छात्र नसिम अख्तरले सहमतिका नाममा विद्यार्थीलाई झुक्याउने र आन्दोलन भाँड्ने काम भएको गुनासो गर्नुभयो । ‘‘खै त, बढी लिएको शुल्क फिर्ता गरेको,’’ उहाँले आक्रोश पोख्दै भन्नुभयो, ‘‘यो सब नाटक हो ।’’ मेडिकल कलेज सञ्चालकहरूले भने रकम फिर्ता नभई समायोजन गर्ने कुरामा सहमति भएको दाबी गर्दै आएका छन् । चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेले एमबीबीएस र बीडीएस प्रथम र द्वितीय ब्याचको शुल्क समायोजन गर्ने कार्य भइरहेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस