असोज १३ , काठमाडौं । ‘सोमबार बिहानैदेखि नौबीसे-नागढुंगा सडक खण्डमा कुनै जाम छैन । सहज रूपमा सवारी आवागमन भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान सडकको पछिल्लो अपडेट सार्वजनिक गर्दै भनेको छ ।
दशैंको मुखमा जीर्ण सडक मर्मत नगरिँदा देशकै लाइफलाइन मानिने नौबीसे-नागढुंगा सडक केही दिन अस्तव्यस्त बनेको थियो । यात्रुहरूले यो खण्डमा दिनमै १२ घण्टासम्म जाम व्यहोरेका थिए । जामकै कारण एक बिरामीको ज्यानसमेत गएको थियो ।दशैंको मुखमा सडक अस्तव्यस्त भएपछि यसको चौतर्फी आलोचना भएको थियो । आलोचनापछि गृह मन्त्रालयले सडक खुलाउन निर्देशन नै दिएको थियो । गृहको निर्देशनपछि अहिले यो सडक खण्डमा सवारी आवागमन सहज भएको छ । ठूला मालबाहक सवारी साधनलाई सो सडकमा गुड्न प्रतिबन्ध लगाइएको छ ।दशैंमा घर फर्किने यात्रुले सडकमा सास्ती झेलेपछि धादिङ प्रहरीले अप्रेसन टोली परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको नेतृत्वमा राजमार्ग अप्रेसन टोली खटाइएको हो ।यसरी परिचालन गरिएको टोली चौबीसै घण्टा खटिने र सडकमा कुनै अवरोध आएलगत्तै समाधान गर्ने कार्यालयले जनाएको छ ।पृथ्वी राजमार्गको सडक खण्डमा रहेका विभिन्न प्रहरी कार्यालयहरूले पनि यात्रुहरूलाई सघाउने कार्यालयले जनाएको छ ।