• २०८१ जेष्ठ ७ गते सोमवार

सिनेमा घरपछि पशुपति आरतीमा पनि राष्ट्रगान

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १३, काठमाडौं । सिनेमा हलमा चलचित्र प्रदर्शनपूर्व अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्ने प्रावधान अघि सारेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति नाथमा दैनिक हुने सन्ध्याकालीन आरतीपूर्व पनि राष्ट्रिय गान बजाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

हिन्दूहरूको आराध्यदेव पशुपतिमा एक दशकअघिदेखि नित्य आरती हुँदै आएको छ । बागमती आरती परिवारले २०६६ सालबाट नियमित आरती शुरू गरेको हो ।

केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिको आरती फेसबुकमार्फत लाइभ गर्ने बताएका थिए । “हामीले त्यहाँ सर्वेक्षण पनि गरेका थियौँ,” मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले बाह्रखरीसँग भने, “भक्तजनहरूको मागबमोजिम नै राष्ट्रिय गान शुरू गराइएको हो ।”

पशुपतिमा ब्रह्मनाल पारिपट्टि सन्ध्याकालीन आरती हुँदै आएको छ । पशुपति मूल मन्दिरको निकास ब्रह्मनालमा अन्त्यष्टिअघि पार्थिव शरीर सुताइन्छ ।पाशुपत क्षेत्र पवित्र तीर्थ स्थलका अतिरिक्त हिन्दूहरूको अन्त्यष्टि, अन्तिम संस्कार स्थलसमेत रहेकाले राष्ट्रिय गानको सान्दर्भिकताबारे पनि बहस चलेको छ ।

तर, पर्यटनमन्त्रीको सचिवालयले भने श्रद्धालु भक्तजनको चाहना र राष्ट्रिय भावनाको जाृगितिका लागि राष्ट्रिय गान बजाउने प्रावधान अघि सारिएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस