जेठ १६, काठमाडौं । अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौका अध्यागमन अधिकृत रमाकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गराएको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवन यापन गरेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरी माथि अनुसन्धान हुदा यनको सार्वजनिक सेवामा प्रवेश मिति २०५९।५।२३ देखि मिति २०७५ मंसिर मसान्तसम्मको जाँचअवधिको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण हेर्दा नमिलेको देखिएको हो । उनले तलव¸ भत्ता¸ कर्जा¸ कृषि आय¸ स्त्रिधन¸ अंश नगद र जग्गा विक्री लगायतबाट जम्मा रु २¸४९¸९२¸७३०।आय आर्जन गरेको देखिन्छ ।
सोही अवधिमा उनले र उनको श्रीमती सरिता नेपाल समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा रु। ४¸५६¸८१¸८४१। खर्च तथा लगानी गरेको देखिँदा उनिहरुको वैध आम्दानीको तुलनामा रु २,०६,८९,१११।बराबरको भागको स्रोत नखुलेको पाइएको हो ।
उनकोको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेकोरकम उनले राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार श्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको विगो रु. २,०६,८९,१११/- र भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख बमोजिम जफत गरी पाउन निज रमाकान्त अर्याल र निजकी श्रीमती सरिता नेपाल समेतलाई प्रतिवादी कायम गरी विशेष अदालत¸ काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।