पौष, १३ चितवन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक्लैले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।
आइतबार गृहजिल्ला चितवनको इच्छाकामना गाउँपालिका कमिटीको शपथ ग्रहणमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपाले मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षाको सम्बोधन गर्न सक्ने दाबी गरेका हुन । उनले भने, ‘आउने दिनमा संस्थागत किसिमले कार्यक्रम चलाइसकेपछि उत्साहपूर्ण वातावरण सिर्जना गर्न सकिन्छ ।’
अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीले मात्रै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा र सम्वर्धन गर्न सक्ने दाबी गरे । त्यस्तै नेकपाले मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षाको सम्बोधन गर्न सक्ने दाबी समेत गरे ।
उनले भने, ‘यो स्थापित तथ्य हो । अझै बढी मिमिनेत गरेर आउने दिनमा यसलाई स्थापित गर्नुपर्छ ।’ उनले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको कुरामा सरकार, पार्टी गम्भीर रहेको बताउँदै एक इन्च भूमि पनि नछोडिने प्रष्टीकरण दिए ।