• २०८० फाल्गुन १० गते बिहिवार

भ्रमण वर्ष २०२० भक्तपुरमा भव्यरूपमा शुरु हुँदै

पढ्न लाग्ने समय : २ मिनेट

पौष, १३ भक्तपुर । नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० भक्तपुरमा भव्यरूपमा स्वागत गर्दै विभिन्न कार्यक्रम गर्ने भएको छ ।

नेपाल भ्रमण वर्ष सफल पार्न जिल्लाका चारवटै नगरपालिकाले आ–आफ्नो योजना अघि सारेका छन् भने निजी क्षेत्रले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तय गरेका छन् ।

‘भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटमा’ भन्ने नाराका साथ जनवरी १ अर्थात् आगामी बुधबार १६ गते नगरकोटबाट बिहान सूर्योदयसँगै भ्रमण वर्षको स्वागत गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा रहेको भक्तपुरमा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समितिले विभिन्न कार्यक्रम तय गरेको छ ।

भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न सन् २०१९ को अन्तिम साँझ भक्तपुर नगरपालिकाले पाँचतले मन्दिरमा दीप प्रज्वलन गर्ने भएको छ । त्यसैगरी ‘सन् २०२० को पहिलो सूर्योदयलाई नगरकोट’ भन्ने नाराका साथ नगरकोटमा स्वागत गर्ने कार्यक्रम तय गरेको छ । सन् २०२० मा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पाहुनालाई विशेष स्वागत एवं सम्मानको गरिने भएको छ । समितिले पर्यटकीय गन्तव्यको पहिचान गर्ने र बढीभन्दा बढी पर्यटक भित्र्याउन कार्यक्रम गर्ने तय छ ।

भक्तपुर नगरपालिकाले जनवरी १ का दिन भक्तपुर नगरपालिकाको नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव २०७६ गर्ने साथै रात्रिकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदास्थलमा सोलार र बिजुली बत्तीको व्यवस्था गरेको, पर्यटक बसपार्क, पर्यटक सूचना केन्द्र, पर्यटकका लागि स्तरीय शौचालय निर्माण गरिसकेको छ ।

भ्रमण वर्षको प्रचारप्रसार स्वरूप समितिले पदयात्रा गरेको हो भने पर्यटन वर्षलाई लक्षित गरी तीनदिने नगरकोट महोत्सवसमेत आयोजना गर्ने भएको छ । यता सूर्यविनायक नगरपालिकाले शिव परिपथ पदमार्ग निर्माण गर्ने भएको छ भने गुण्डु, अनन्तलिङ्गेश्वर, रानीकोट, घ्याम्पेडाँडा, सिपाडोल, नैचाल, आशापुरी हँुदै चित्तपोलको कैलाश महादेवसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै अभियान सञ्चालन गर्ने भएको छ ।

साथै रानीकोट क्षेत्रमा दृश्यावलोकन स्तम्भसमेत बनाउने भएको छ । यहाँ पदमार्ग निर्माणका साथै निजी क्षेत्रबाट जीप राइडिङ, बञ्जीजम्प, प्याराग्लाइलिङ सञ्चालन गर्ने र होटलमा छुटको व्यवस्था गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाले चाँगुनारायणबाट नगरसम्म सम्पदा एवं प्राकृतिक सौन्दर्यको अवलोकन गराउने, पदयात्रा गराउने, पर्यटकको बसाइँ लम्ब्याउने कार्यक्रम ल्याउने गरी तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस