असोज १२ मनाङ । मनाङ जिल्ला समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणमा सघाएका चालकहरुलाई सम्मान गरेको छ ।चामे गाउँपालिका वडा नम्बर ४ मा भएको कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल र प्रहरी निरीक्षक श्रवण कुमार विकले सवारी चालकहरुलाई अविर र माला लगाइदिएर सम्मान गरेका हुन् ।
सम्मानित भएका चालकहरुले खुसी व्यक्त गरेका छन् ।‘प्रहरीको चेकिङमा प्राय कारबाहीमा पर्थ्यौं, आज प्रहरीकै हातबाट अविर माला लगाउन पाइयो,’ ग १ ज ६३१७ नम्बरका जीप चालक लक्ष्मण तामाङले भने, ‘यो हामीलाई जिम्मेवार बनाउन गरिएको कार्य हो ।’यसैगरी ग १ ज ६३९१ नम्बरका जीपका चालक नारायण भण्डारीले आफूहरुलाई सम्मान गरेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरीप्रति आभार प्रकट गरे ।
प्रहरी निरीक्षक विकले सवारी दुर्घटना न्युनीकरणका लागि चालक, सहचालक, यात्रुहरु र समुदायको भूमिका कस्तो हुनुपर्दछ भनि जनचेतनामुलक अनुशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा दुर्घटना न्युनीकरणसम्बन्धी प्रचार सामग्री वितरण पनि गरिएको थियो ।