• २०८१ चैत्र २ गते आइतवार

स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो– ‘आईफा अवार्डमा दिने खर्च भ्रष्टाचारको चरम रुप’

पढ्न लाग्ने समय : २ मिनेट

असार १४,  काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले भारतको फिल्म एकेडेमी (आईफा) अवार्ड कार्यक्रम नेपालमा गर्न ४४ करोड २५ लाख रुपैयाँ नेपाल सरकारले ब्यहोर्नेप्रति घोर आपत्ति जनाएको छ । अभियानका केन्द्रीय संयोजक स्वागत नेपालले एक बिज्ञप्ति जारीगरि यो रकम तत्काल नरोके नेपालमा हुन लागेको आइफा अवार्ड कार्यक्रम अबरुद्ध पार्ने चेतावनी दिएका छन् ।

‘एउटा पूर्ण रुपमा नाफा कमाउने उद्देश्यले स्थापित प्राइभेट कम्पनी विजक्राफ्ट इन्टरन्याशनल इन्टरटेन्मेन्ट प्रालिले आफ्नै खर्चमा गर्दै आएको कार्यक्रम परम्परा बिपरित नेपाल सरकारले खर्च ब्यहोर्ने यो कार्य चरम भ्रष्टिकरणको नमुना हो, नेपालले भनेका छन्,‘कार्यक्रमको संयोजक नेपालको मन्त्री वा राज्यमन्त्री रहने निर्णय झनै लज्जाजनक निर्णय हो ।’ स्वतन्त्र राष्ट्रिय अभियान नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै यो निर्णय तत्काल फिर्ता गर्न र फिर्ता नगरे कार्यक्रम असफल पार्न पूर्ण रुपमा व्यवधान गर्ने चेतावनी दिने उनले बताए ।

अभियान नेपालले बिज्ञप्ति जारि गर्दे भनेको छ,‘सरकारले आफ्नै देशभित्रैको पनि नाफा कमाउने उद्देश्यले सञ्चालित प्रा. लि. कम्पनीलाई सरकारी रकम चन्दा स्वरुप उपलब्ध गराउनु सोझै भ्रष्टाचारको परिभाषाभित्र पर्छ ।’ आफ्नै खर्चमा विश्वका विभिन्न देशमा कार्यक्रम गर्दै आएको र उल्टो सुटिंग लगायतका शुल्कहरु होस्ट कन्ट्रीलाई भुक्तानी गर्दै आएको इण्डियाको एउटा इभेन्ट म्यानेजमेन्ट र इन्टरटेन्मेन्ट एजेन्सीलाई सोझै मन्त्री वा राज्यमन्त्री स्तरको संयोजक तोकिने गरी विमान टिकट तथा खाना र आवासको समेत सम्पूर्ण खर्च व्यहोर्ने निर्णय नैतिक रुपले देश र जनताको हित विपरित तथा कानुनी रुपमा समेत भ्रष्टाचारपूर्ण निर्णय भएको बिज्ञप्तिमा उल्लेख छ ।

सरकारले एकातर्फ क्लिन फिड लागू गरी अन्य मुलुकका विज्ञापनमा प्रतिबन्ध लगाउने नीति लिएको प्रचार गर्ने तर भित्रभित्रै जनताको कर तिरेको रकमबाट संकलित राज्यकोष नै भ्रष्टाचारयुक्त रुपमा विदेशी संस्कृतिको स्वदेशभित्र आमन्त्रित हस्तक्षेपको रुपमा विस्तार गर्ने एजेण्टको रुपमा देश र संस्कृतिघाति गतिविधि गर्ने क्रमलाई तत्काल रोक्न बिज्ञप्तिमा भनिएको छ । बिज्ञप्तिमा यो निर्णय तत्कालै फिर्ता नगर्ने हो भने यस स्वतन्त्र राष्ट्रिय अभियान नेपाल उक्त कार्यक्रम नेपालमा असफल गराउनका लागि सबै उपायहरु अपनाउन बाध्य हुने उल्लेख छ । यस संस्कृतिघाती र भ्रष्टाचारपूर्ण निर्णय फिर्ता लिनका लागि फिर्ता नभए सो कार्यक्रम स्थलमा समेत उपस्थित भई कार्यक्रम रोक्नका लागि गरिने सिर्जनशील हस्तक्षेपकारी विरोध प्रदर्शनमा सहभागी भइदिनुहुन सम्पूर्ण भ्रष्टाचार विरोधी, संस्कृतिप्रेमी र देशभक्त नागरिकहरुमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस