असार १४,काठमाडौं । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह चालकले सवारीभित्रै बलात्कार गरेका छन्।
बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई ट्रक भित्रै बलात्कारको अभियोगमा चालक र सह चालक दुवै पक्राउ परेका छन्।
ट्रकका चालक मोरङ ऊर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३० वर्षीय चालक विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि तनहुँ अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
प्रहरीका अनुसार नारायणगढ आफन्तकहाँ जान लागेकी ती महिलाले बस नभेटेपछि ट्रकसँग लिफ्ट मागेकी थिइन्। तर करिब दुई घण्टामा नारायणगढ पुगेको ट्रकबाट झर्न नदिएर आफूलाई जर्बजस्ती ट्रकमै बलात्कार गरिएको महिलाको आरोप छ।
दमौलीका लागि रड लिएर आउँदै गरेको सो ट्रकलाई व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर चालक र सहचालक दुवैले आफूमाथि बलात्कार गरेको महिलाको आरोप छ।
करिब १ बजेतिर भएको घटनापछि ट्रकले आफूलाई दमौली झारेको र आफू पोखरा पुगेपछि प्रहरीको सम्पर्कमा पुगेको महिलाको भनाइ छ। घटनालगत्तै प्रदेश प्रहरी कार्यालयको सूचनाका आधारमा तनहुँ प्रहरीले बीपी वन वाटिका मैदानमा रड अनलोड गर्दै गरेको अवस्थामा चालक र सहचालक दुवैलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए।