जेठ १५, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रिद्धारा शुभकामना व्यक्त गनुभएको छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो ।
गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा भनिएको छ “हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा हो । जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।’’
यो संकल्पलाई सार्थक पार्न सबै पेशा, व्यवसायीहरुको साथ रहने विश्वास पनि ओलीले व्यक्त गरेका छन् । ‘सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन्’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छा शक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’जनताको अनुहार मलिन हुन नदिने संकल्प सरकारले लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यसका लागि सबैको साथ अपरिहार्य रहेकाले सहयोग गर्न उनले अपिल गरेका छन् ।