बैशाख १६, धादिङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ रुबिभ्याली गाउँपालिका(२ बस्ने ५९ वर्षीय बमबहादुर बिक, सोही ठाउँ बस्ने ३४ वर्षीय हेम डल्ला बिक र ४० वर्षीय सार्की बिक रहेका छन् ।
उनीहरूमध्ये बमबहादुर आइतबार धादिङ तिप्लिङ कामीगाउँबाट, हेम आइतबार रसुवाको आमा छोदुङ गाउँपालिका(५ प्राजुङबाट र सार्की गत बुधबार काठमाडौं गौशालाबाट पक्राउ परेका हुन् । जिल्ला अदालत धादिङको २०७४ मंसिर १९ गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बमबहादुरलाई २० वर्ष, हेम डल्लालाई २० वर्ष र सार्कीलाई २ वर्ष कैद सजाय तोकिएको थियो । बिक समेतका ८ जनाले २०६३ कार्तिकमा धादिङ तिप्लिङ कामीगाउँ बस्ने २७ वर्षीय देव बहादुर बिकलाई देउसी खेल्न जाउँ भन्दा बिरामी भएकोले नमानेको कारण कुटपिट गरी घाइते बनाएकोमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो । मृत्यु भए पश्चात् प्रतिवादीहरूले शवलाई सोही ठाउँस्थित चिमडाँडामा लगेर जलाई नष्ट गरेका थिए ।
धादिङ जिल्ला अदालतकै फैसलाले घटनामा संलग्न धादिङ रुबिभ्याली गाउँपालिका २ बस्ने ४५ वर्षीय पुर्ण बहादुर बिक २०६४ भदौ ११ गते र सोही ठाउँ बस्ने ३१ वर्षीय मंगले कामी भन्ने डिल बहादुर बिक २०७३ जेठ ३ गते पक्राउ परी कारागार चलान भइसकेका छन् ।