• २०८२ जेष्ठ ४ गते शनिवार

जनताको चाहना, आवश्यकता र आकाक्षां अनुसार देशको मुहार फेरिन्छ : प्रधानमन्त्री

पढ्न लाग्ने समय : ४ मिनेट

कार्तिक ११, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओललीले देशको विकास र समृद्धि तिव्र गतिका साथ अघि बढिरहेको उल्लेख गर्दै जनताको चाहना, आवश्यकता र आकाक्षां अनुसार देशको मुहार फेरिने बताउनुभएको छ ।

प्रज्ञा भवनमा आइतवार भएको सिस्नोपानी नेपालका हास्य कलाकारहरुको व्यंग्यात्मक देउसीको जवाफमा बोल्दै उहाँले उक्त उद्घोष गर्नुभयो ।

यस्तो छ प्रधानमन्त्री ओलीको जवाफ

हामीले अत्यन्तै मनोरञ्जक र सचेतनामूलक देउसी कार्यक्रमको अवलोकन गर्ने मौका पायौं । अलिकति सिस्नोपानीले आयोजना गरेको हुनाले थोरै–थोरै सिस्नोको झड्का पर्नु स्वाभाविकै हो । अलिअलि बजारका हल्लाहरुले पनि असर गर्या छ । तर, अत्यन्तै सफल र भव्य कार्यक्रम आयोजना गर्नुभएको छ । रामचन्द्र पौडेलजीले ठीकै भन्नुभएको हो, नेताहरुले फूलको माला मात्रै होइन, जुत्ताको माला पनि लगाउनुपर्ने हुन्छ । दुई प्रकारका नेता हुन्छन, एउटा जुत्ताको माला लाउनुपर्ने हुन्छ, अर्को फूलको माला लगाउने हुन्छ । नेताहरुले जुत्ताको माला लगाउने खालको काम गर्नुहुँदैन । फूलको माला लगाउने खालको काम गर्नुपर्छ ।

यही कुरा देउसी टोलीले हामीलाई सजग गराएको छ । यद्यपी केही केही अलिकति भ्रमपूर्ण कुरा छन् । नेपाल हार्दैछ कि हार्दैछ भन्नुहुन्छ, कहाँ हार्दैछ । नेपाल ब्रिटिससँगको लडाइँमा त हारेन, हाला कि अलिकति क्षति व्यहोरेर सम्झौता गरियो । तर, पनि हारेन । कहिलेकाँही अलिकति ठक्कर खायो होला, पछाडि पर्यो होला, तर नेपाल हारेन । नेपाल निरंकुशतन्त्रसँग हारेन । नेपाल निर्दलीयतासँग हारेन । राणा शासनसँग हारेन । जनताले जित्दै आए । अहिले पनि नेपालले जितेको छ ।

हामीले एउटा प्रणाली स्थापना गरेका छौं । जुन प्रणाली उत्कृष्ठ लोकतान्त्रिक प्रणाली छ । यस लोकतान्त्रिक प्रणालीलाई लोकतान्त्रिक संविधानबाट व्यवस्थित गरेका छौं र त्यसलाई अपनाउँदैछौं । यो देउसी कार्यक्रम हो र सिस्नोपानीले स्वाभावअनुसार अलिअलि व्यंग्य चलाएको छ । व्यंग्यलाई धेरै गम्भीरताका साथ लिनु पनि हुँदैन र यसलाई जवाफ दिइरहनु पनि आवश्यक छैन । यद्यपि मैले भन्नैपर्छ, सुन कसले लुकायो रु त्यो त म खोजी गर्दैछु । अहिले ७५ जना सुन तस्कर गर्नेहरु जेलमा छन् । ठूला माछा नउम्किउन, तपाईहरुको आशिर्वाद लाग्यालाग्यै छ ।

बालुवाटारको जमीन चिराचिरा पारेकै थियो । त्यसको अहिले खोजीनीति हुँदैछ, छानविन हुँदैछ र त्यो सरकारमा फिर्ता गरिन्छ । अब कसैलाई रीस उठेको भएदेखि मलाई पनि आरोप लगाइदिए हुन्छ, किनभने यो सामाजिक सञ्जालमा अनेकथरि भन्ने चलन छँदैछ । होइन भने मैले भनेको छु कि मेरो निष्ठा एउटा स्वच्छ जीवन, पारदर्शी जीवन बिताउने मेरो प्रतिवद्धता हो, निष्ठा हो । भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न । आफू नगर्ने, अरुमार्फत गराउने हैन, आफू नगर्ने । आफू नसमाउने अरुलाई समाउन लगाउने हैन, त्यसकारण मैले भ्रष्टाचार गर्दिनँ मात्रै भन्या छैन, गर्न पनि दिन्न ।

त्यसकारण म आग्रह गर्न चाहन्छु, देउसी टीमसँग मेरो भावना ठ्याम्मै मिल्यो, उद्देश्यहरु ठ्याम्मै मिले । अलिअलि भाषामा मिलेन । किनभने म बेग्लै ठाउँमा छु, उहाँहरु सिस्नोपानीमा हुनुहुन्छ । तर, तपाईहरुको आशिर्वाद लागोस् । देश तीव्र गतिमा बन्नुपर्छ । बन्छ र बनाइन्छ । केही पनि काम भएन भन्नुहुन्छ, अनि शिलान्यास गर्दै फुर्सद छैन, धमाधम छ भन्नुहुन्छ, कति काम भइरहेको रहेछ’ त्यसकारण काम भइराखेको छ । अघि एकजना साथीले भन्नुभो, अब पहिले नै हामीले विकास गरिसक्यौं भने त पछिका पिँढीले के गर्ने रु तर, सन्ततीका लागि पनि विकास गर्ने ठाउँ रहन्छ, किनभने यसअघिका कसैले विकास नगरेको हुनाले अहिले भर्खरै सुरु भएको छ, अहिले नै कहाँ सकिन्छ र विकास । प्रक्रिया हो, अगाडि बढ्दै जान्छ । म साथीहरुलाई आश्वस्त पार्न चाहन्छु ।

अत्यन्त रमाइलो कार्यक्रम भएको छ । सवैलाई रमाइलो भएको छ । दुईचार जनालाई अलिअलि चोट लाग्या छ । जसलाई सिस्नोपानी लाग्यो, त्यसलाई अलिअलि पोल्या हुन्छ । हामी सबैले आनन्द मानेका छौं । यो देउसी कार्यक्रमले हामी सबैलाई मनोरञ्जन पनि दिएको छ, सन्देश पनि दिएको छ, आग्रह पनि गरेको छ, सचेत पनि गराएको छ । राम्रो काम गर्ने र देश विकास गर्ने दिशामा यस देउसी कार्यक्रमले, यस वर्षको उज्यालोको चाडले हामी सबैलाई प्रेरणा देओस ।

प्रतिक्रिया दिनुहोस