- सागर थापा/महेन्द्र सिंह
साउन १२, बाँके । बाँकेको नेपालगन्जमा निर्माण गरिएको मध्यपश्चिम क्षेत्रिय प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । ५ नं. प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी सोनामको विशेष उपस्थितीमा आईतबार अस्पतालको औपचारिक उद्घाटन गरिएको हो ।
वि.सं. २०५५ सालमा स्थापना गरिएको उक्त अस्पताल २०५८ सालदेखि आफ्नै भवनमा संचालन हुँदै आएको थियो । प्रहरी कर्मचारी तथा उनीहरुका परिवारहरुलाई लक्षित गरि निर्माण गरिएको अस्पतालको आईतबार मन्त्री सोनामले औपचारिक उद्घाटन गरेका हुन । अस्पताल उद्घाटनसँगै अस्पतालकालागि आवश्यक डिजिटल एक्सरे मेसिन, अक्सिजन सिलिन्डर, सक्सन मेसिन, राउण्ड ट्रली, बेड, कुर्सी-टेवल जस्ता अत्यावश्यक सामग्रीहरुसमेत हस्तान्तरण गरिएको छ । ५ नं. प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अस्पतालकालागि आवश्यक विभिन्न अत्याधुनिक मेसिनहरु उपलब्ध गराएको हो ।
अस्पताल उद्घाटन तथा सामग्री हस्तान्तरण गर्दै मन्त्री सोनामले नागरिकहरुको सुरक्षामा खटिने प्रहरी तथा उनीहरुका कर्मचारीहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल संचालन गरिएको बताए । उनले अस्पताल भौतीक तथा प्राविधिक सुधारकालागि प्रदेश सरकार हरदम तयार रहेको बताए ।
ओपिडी, ईमर्जेन्सी, फार्मेसी, वार्ड, माईनर, ओ.टी., एक्सरे, फिजियो थेरापी सेवाका साथै प्रयोगशाला समेत संचालन गर्दै आईरहेको १५ शैयाको उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकहरुले सेवा प्रवाह गर्दै आईहरेको कार्यक्रममा जानकारी गराईएको थियो । अस्पतालबाट हालसम्म प्रहरी कर्मचारी तथा प्रहरीका परिवारहरुमध्ये १८ हजार बढिले सेवा लिईसकेका छन ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । प्रहरी निरिक्षक ज्ञानेन्द्र चौधरी, प्रहरी नायव निरिक्षक प्रतिक्षा भुषाल, प्रहरी सहायक निरिक्षक दिपेन्द्र बस्नेत, दिपा कुमारी रेग्मी, प्रहरी हवलदार गोपाल शर्मा र प्रहरी जवान भरत डाँगीलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । त्यसैगरी डा. रोमन किदवाई, डा. विपिन आचार्य, डा. जीसन न्यौपाने र डा. नविन रेग्मीलाई सम्मानित गरिएको थियो ।