असार १३, काठमाडौं । मकवानपुरको राक्सीराङ गाउँपालिका–७ धिराङमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । अन्य तीनजना सिकिस्त बिरामी परेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा ६ कक्षामा पढ्ने किशोरी बुञ्जीमाया चेपाङ रहेको मल्लले जानकारी दिए । सिकिस्त बिरामीलाई हेलिकोप्टरबाट उद्धार गर्न खोजेको भए पनि सफल हुन नसकेको मल्लले बताए । “हेलिकोप्टरबाट ल्याउन पाए ती चेपाङ बाँच्थे,” मल्लले भने, “सीडीओ सापलाई भनेको, उहाँले पनि जुटाउन सक्नुभएको छैन ।”
गाउँपालिकाबाट भिराङ झण्डै सात घण्टाको पैदल दूरीमा छ । वडा नम्बर ७ मा २५ सय ४४ जनसंख्या छ । अधिकांश चेपाङ समुदाय रहेको उनले बताए ।
गिट्ठा, भ्याकुरको भरमा जीवन गुजारा गरिरहेका चेपाङले जङ्गलमा उम्रिएको च्याउ खाँदा भवितव्य आइपरेको मल्लले बताए । “घरमा खानेकुरा छैन, जंगलमा उपलब्ध चिजबिजको भर पर्नुपर्छ, नजानेर च्याउ खाँदा विपत्ति आइपर्यो,” उनले भने ।