• २०८१ चैत्र ३ गते सोमवार

खुसीको खबर; नेपालि चेली बन्दना नेपालको गिनिजमा नाम दर्ता

पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौं – लगातार एक सय २६ घण्टा लगातार नाचेर धनकुटाकी १७ वर्षीया डान्सर बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा नाम दर्ता गरेकी छिन्। गिनिज वल्र्ड रेकर्डले मंगलबार उनलाई सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा औपचारिक सर्टिफिकेट दिएको छ।

‘गिनिज बुक अफ वल्र्ड रेकर्डले मलाई सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा औपचारिक सर्टि फिकेट प्रदान गरेको छ’,उनले भनिन्, ‘मेरो मेहेनतले गर्दा नेपालको नाम विश्वसामु परिचित भएको छ । यो रेकर्डले मलाई प्रोत्साहित गरेको छ।’ बन्दनाले नेपाल फाउण्डेसनबाट विभिन्न सामाजिक गतिविधिमा सक्रिय भई नृत्यलाई निरन्तरता दिने प्रतिक्रिया दिइन्।

गत मंसिरको पहिलो साता बत्तीपुतली स्थित विग फुड ल्याण्डमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीतहरूमा लगातार ६ दिन नृत्य गरेकी थिइन्। लगातार नाच्ने क्रममा निन्द्राका कारण स्टेजमा ढलेकी थिईन। यस अघि गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान भारत केरलाकी कलामण्डलम हेमालथाले नाम लेखाएकी थिइन्।

उनले १ सय २३ घण्टा १५ मिनेट नाचेर गिनिजमा नाम राखेकी थिइन्। बन्दनाले भने त्यो समयभन्दा बढी नाचेर उनको नामलाई बे्रक गरिदिएकी थिइन्। ‘मरेपनि यही स्टेजमै मर्छु। बाँचेपनि यही स्टेजमा बाँच्छु। यो देशलाई विश्वसामु चिनाउनेछु’, नृत्य प्रस्तुत गर्ने क्रममा उनले भनेकी थिइन्। गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिहरूले उनलाई लगातार ४–४ घण्टापछि १० मिनेट आरामको समय दिइएको थियो। उनले विभिन्न म्युजिक भिडियोमा कोरियोग्राफरको रूपमा काम गरिरहेकी छन्।

प्रतिक्रिया दिनुहोस