• २०८२ जेष्ठ ३ गते शुक्रवार

भक्तपुरको विकास र समृद्धिलाई दीपावली जस्तै उज्यालो बनाउने सांसद बस्नेतको अठोट

पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १०, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उज्यालोको पर्वको रुपमा रहेको दिपावली जस्तै भक्तपुरका जनताको विकास र समृद्धि प्रतिको चाहना पुरा हुने बताउनुभएको छ । सिपाडोल क्षेत्र परोपकार समाजले आज आयोजना गरेको परोपकार कोष स्थापना देउसी भैलो कार्यक्रममा बोल्दै सांसद बस्नेतले चाडपर्वहरु सामाजिक कामसँग जोडिएको बताउँदै चाडपर्वमा गरीने पुजा समृद्धिको प्रतिक भएको उल्लेख गर्नुभयो ।

चाडपर्वहरु प्रगतिशिल पथमा अघि बढाउनुपर्नेमा जोड दिँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कुनै पनि मानिस उत्पादन, व्यवसायिक तथा रोजगारीमा जोडिदै आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरका स्थानीय जनताले नै समस्या समाधानमा सक्रियता देखाउने गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले भक्तपुरको विकासमा अन्य जिल्लाको जस्तो ठूलो अड्चन नभएको, भएकालाई जनप्रतिनिधि तथा सम्बन्धीत निकायले समन्वय गरी समाधान गरी अघि बढिरहेको जानकारी गराउनुभयो ।

केही समस्याका कारण विकास पनि गरेको तर गाली पनि खानुपरेकाले विशेष ध्यान दिई विकासमा अघि बढ्ने प्रतिवद्धता जनाउँदै उहाँले सिपाडोलको सडकका लागि ढल निर्माणको काम सम्पन्न भएसँगै दुई करोडको लागतमा कालोपत्रे गर्ने कार्य हुने जानकारी गराउनुभयो । उहाँले यो वर्ष डोलेश्वर मन्दिरको निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन गरी निर्माण सम्पन्न गराउने प्रतिवद्धता समेत जनाउनुभयो ।

तीन वटै तहका सरकारको समन्वयनमा भक्तपुरमा भइरहेको कुनै पनि विकास निर्माणका कार्यहरुमा बजेटको अभावन नहुने बताउँदै भक्तपुरमा भइरहेका साना ठूला योजना तथा राष्ट्रिय गैरवका आयोजनाहरु निर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो । कार्यक्रममा सांसद बस्नेतले उक्त संस्थाको कोष स्थापनाको लागि रु ११ हजार सहयोग समेत हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस