असोज १० बैतडी । बैतडी जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् ।पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको स्थानीय ६० वर्षीय वृद्ध कर्णसिंह साउदले बताए ।
सडक बन्ला भन्ने सपना पनि थिएन, गाडीसमेत गुडेको देख्दा खुशी लागेको उनको भनाइ थियो । सडक उद्घाटनपश्चात् पिपलकोटमा पहिलोपटक म१ज २७२ नंको जिप पुगेपछि । स्थानीय बासिन्दाले उक्त जिपका चालक वीरेन्द्र महतालाई सम्मान गरेका थिए । उक्त गाउँपालिकाको वडा नं ४ मा सडक सञ्जाल विस्तार भएसँगै सहजरूपमा आहोरदोहोर गर्न पाइने भएको छ । यसका साथै खाद्यान्न र दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सजिलो हुने पिपलकोटका व्यापारी दीपेन्द्र साउदले बताए ।
सडकसम्म पुग्न तथा गाउँपालिका केनद्रसम्म पुग्न दुई घण्टा उकालो हिँड्नुपर्ने बाध्यता अहिले अन्त्य भएको स्थानीयवासी मदन साउदको भनाइ थियो । गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले गाउँपालिका र जनश्रमदान करीब रु ३७ लाखको लागतमा उक्त सडक निर्माण भएको जानकारी दिए ।