• २०८० मङ्सिर १६ गते शनिवार

कर्णालीको बजेट र योजनामा असन्तुष्टि नै, असुन्तुष्टि

पढ्न लाग्ने समय : २ मिनेट

सुर्खेत १२, असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको वजेट तथा योजनाप्रति साँसद्हरुले असन्तुष्टी जनाएका छन् । प्रदेशसभा बैठकमा भइरहेको छलफलमा यसअघि भइरहेको असन्तुष्ट अझै व्यापक रुपमा अघि बढेको छ ।
प्रतिपक्ष मात्र नभई सत्ता पक्षका साँसदहरुले समेत बजेटमा धेरै कमिकमजोरी रहेका भन्दै आलोचना गरेका छन् । सत्ता पक्ष नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की सचेतक साँसद सीता नेपालीले वजेटको समान वितरण नभएको बताउनुभयो । उहाँले,वजेट ठूला नेता र मन्त्रीमुखी मात्रै भएको दावी गर्नुभयो ।
नेकपाकी नेता तथा साँसद पद्मा खड्काले प्रदेश राजधानीमा खानेपानीको सहज आपूर्ति र अभाव हटाउने योजना र बजेट हुनुपर्ने माग गर्नुभयो । बिहीबारको बैठकमा साँसदहरु हिमबहादुर शाही, देवी ओली, कौशिलावती खत्री, कुर्मराज शाही, झोवा विक, राजु नेपाली, विरबहादुर शाही, दानसिं परियार, अमृता शाही, पदमबहादुर रोकाय र रातो कामीले भनाई व्यक्त गर्नुभएको छ । उहाँहरुले पनि बजेटमा असन्तुष्टी व्यक्त गर्नुभएको छ ।
यसअघि हिजो वजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा साँसद जीवनबहादुर शाही, साँसदहरु कृष्णा शाह, ठम्मर विष्ट, सोशिला शाही, विन्दमान विष्ट, अमरबहादुर थापा, गणेश प्रसाद सिंह, गोपाल शर्माले आफ्नो सुझाव र आलोचना प्रस्तुत गरेका छन् । प्रदेशसभामा कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गत असार १ गते आगामी आर्थिक वर्षको वजेट र योजना प्रस्तुत गर्नुभएको थियो । त्यसमै केन्द्रित भएर प्रदेशसभामा छलफल चलिरहेको हो । प्रदेशसभा बैठक सुक्रबार दिउसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस