असार १२, बाँके । बाँके जिल्ला प्रवेशका सबै नाकामा सिसि क्यामेरा राखिने भएको छ । प्रदेश सरकारको सहयोगमा बाँके प्रहरीले जिल्ला प्रवेशका हरेक नाकामा सिसि क्यामेरा राख्ने तयारी गरेको हो ।
सिसि क्यामेराको लागि टेण्डर भइसकेको छ भने बाँके प्रहरीले कहाँनिर राख्दा उचित हुन्छ भन्ने अध्ययन थालेको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी प्रकाश सापकोटा प्राविधिक टोली बुधबार कुसुम पुगेको थियो । डिएसपी सापकोटाले भन्नुभयो, “असारको २५ गतेभित्र जिल्लाका हरेक नाकामा सिसि क्यामेरा जडान गरिसक्छौं ।”
पूर्व–पश्चिम राजमार्गको कुसुम र सम्झनाचोक, सुर्खेतरोडको जमुनाहा र चिसापानी तथा बर्दिया जोड्ने हुलाकी राजमार्गको धनौलीमा शक्तिशाली सिसि क्यामेरा राख्ने तयारी भएको हो ।
“पाँच ठाउँमा दश वटा क्यामेरा राख्छौं,” डिएसपी सापकोटाले भन्नुभयो । जमुनामा सिसि क्यामेरा राखेपछि भारतबाट नेपाल प्रवेश गर्ने र बाहिरिने सवारी साधनको निगरानी हुन्छ । कुसुममा राखेको सिसि क्यामेराले पूर्वबाट बाँके प्रवेश गर्ने र बाहिरिने सवारी साधनको निगरानी हुनेछ ।
चिसापानीमा राखिएको क्यामेराले सुर्खेतबाट भित्रिने र बाहिरिने, सम्झनाचोकमा राखिएको क्यामेराले पश्चिमबाट हाइवे हुँदै आएको सवारी साधन र धनौलीमा राखिने सिसि क्यामेराले हुलाकी राजमार्ग हुँदै बर्दियाबाट भित्रिने र बाहिरिने सवारी साधनको निगरानी गर्न सकिने प्रहरीले बताएको छ । सिसि क्यामेरा राखेपछि विकृति हट्ने प्रहरीले आशा गरेको छ ।