असार १२ ,सप्तरी । आफ्नो केटि साथी भेट्न गएका एक युवकलाई स्थानीय युवाहरुले कुटपिट गरि हत्या गरेका छन् ।
सप्तरीको राजबिराजमा भएको कुटपिटबाट २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या भएको प्रहरीले जनाएको छ । उनी केटी साथी भेटन खर्साल टोल गएका बेला सोमबार राति कुटपिट गरिएको थियो ।
बिराजी तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने गर्थे । उनी स्कुलको छात्रावास वार्डेनका रुपमा समेत कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।
सोमबार राति कुटपिटबाट घाइते भएको अवस्थामा प्रहरीले राजविराज–६ खर्साल टोलबाट उद्धार गरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना गराएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि बुधबार बिहान नोबेल अस्पताल विराटनगर पुर्याइएको र उनको बुधबार दिउँसो मृत्यु भएको मृतकका बुबा उपेन्द्र यादवले जानकारी दिए । मृतकका बुबाले हत्यामा संलग्न भएको आरोपमा बुधबार नै ९ जना विरुद्ध उजूरी दिएका छन् ।
हत्याबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको र आरोपितको खोजीकार्य तीव्रताका साथ भइरहेको प्रहरी उपरीक्षक यादवले बताए ।