- पंखबहादुर शाही
फागुन , १४ दैलेख । नेपालका प्रथम राणा प्रधानमन्त्री जंङ्गबहादुरका राणाका पिता बालनरसिंह कुँवरको सम्झनामा बनेको दैलेखको दुल्लू नगरपालिका –८ स्थित बालेश्वर मन्दिर जीर्ण अबस्थामा छ । जंङ्गबहादुर राणाका पिताको समाधि रहेको मन्दिरको स्थानीयले चासो र संरक्षण अभावले गर्दा जिर्ण बनेको हो ।
प्यागोडा शैलीमा निर्माण गरिएको बालेश्वर मन्दिरको बनावट हेर्दा हिन्दु र मुस्लिम समुदायको समिश्रणबाट बनेको देखिन्छ । कुवँर जुम्ला सिंजाको हिउँदै राजधानी मानिएको दुल्लूमा आइपुग्दा असाध्यै मनपराएपछि उनकै इच्छामा समाधि राख्न काठमाण्डौबाट मलामी आएका किवदन्तीमा उल्लेख छ ।

दैलेखको दुल्लू नगरपालिका –८ स्थित प्रथम राणा प्रधानमन्त्री जंङ्गबहादुर राणाको पिताको नाममा रहेको बालेश्वर मन्दिर जीर्ण बन्दै । पर्यटको मुख्य आर्कषण मानिने मन्दिर संरक्षण र मर्मत नभएकाले दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । तस्वीर: पंखबहादुर शाही
मन्दिर विक्रमसंवत १८७३ मा बनेको हुनसक्ने सो मन्दिरका पुजारी रविलाल उपाध्यको अनुमान छ । पहिलेका शिलालेख मेटाएकाले यकिन गर्न नसकिएको छैन । कुवँरले बाबुको किरिया समेत गरेर ११ औं पुष्यतिथि गरी सोही ठाउँका भाउदास उपाध्यायलाई आजपुजा गर्न र मन्दिरको हेरचाह गर्न जिम्मा दिएको स्थानीय बुद्धिजिवीको भनाई छ ।
मन्दिरको नाममा भैरबी गाउँपालिकाको कागते तडा खेत ४१ मुरी माटो,लिउडाखेतमा ११ मुरी,४१ मुरी खेत पिथुवाडा,११ मुरी लयाटीविन्द्रासैनी,११ मुरीखेत वस्तेकोट करधारा,रहेको दुल्लु नगरपालिका वडा नं. ८का तिलक प्रसाद उपाध्यले बताए । ‘आजापुजा गर्नेको लागि मन्दिरका नाममा ती खेत कमाउने तिरो तिर्ने गर्थे मन्दिर जीर्ण भई कोही पुजारी नहुँदा तिरो समेत बन्द भएको थियो । गत बर्ष दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम धण्डारीको पहलमा उपाध्य परिवारका हाल पुजारी रविलाल उपाध्यलाई भने पछि आफु मन्दिरमा पुजाआजा गर्न गरेको रविलालको भनाई छ । ०४८ सालको नापीले गर्दा जग्गा जमिन हरायो,उनले देखेसो पोखे । कहिले बनेको भन्ने बारे स्थानीय समेत वेखवर छन् ।
०६६ सालको दैलेख महोत्सवको समयमा जिल्ला विकासले समितिको २० हजार लगानी गरि मन्दिरको केही मर्मत गरेपनि ०६८ पुस महिनाको वर्षातसँगै चट्याङ पर्दा मन्दिर चर्किनुका साथै भित्रिए भत्किएका छन् । शिला भाँचिएको छ । मन्दिर जीर्ण बन्दै गएपछि स्थानीयबासीले मन्दिरका घण्ट घरमा लिएर राखेको पाईएको छ । मन्दिर भित्र ३६ थानका हाँसको अण्डा जस्तो सेतो ढुंगा,शंख,मुर्ति शालीग्रामहरु थिए । ०६७ मंसिर महिनाको २६ गते बाबाको भेषमा बास खोज्दै आएको व्याक्तिले तामाबाट बनेका वाघ र शिवका मुर्ति चोरेर लगेको स्थानीयबासी बताउँछन् । मन्दिरभित्र हाल भाँचिएको शिलालेख र मन्दिरबाहिर १९६१ सालमा चढाएको घण्ट बाहेक अरु सबै चिज चोरी भइसकेको रविलाले बताए । मन्दिरमा बडादशै र चैत्र अष्टिमको दिनमा विशेष मेला लाग्ने गर्छ ।
आर्थिक वर्ष ०७२/०७३ मा दुल्लू नगरपालिकाले बालमैत्री बनाउन लागि चार लाखको लगानीमा मन्दिर क्षेत्रको वरिपरि घेरवार र गेट निर्माण गरेको थियो । चालु आर्थिक वर्षमा वन मन्त्रालयले पुर्ण स्मृति पार्क भनेर सोही ठाउँका लागि तीन लाख रकम विनियोजन गरेको दुल्लु नगरापलिका नगरप्रमुख घनश्याम भण्डारीले बताए ।
पुर्णस्मुति शहिद पार्कमा बालबालिकाले प्रकृतिको ज्ञान लिउन भन्ने उदेश्यले पुर्ण शहिद स्मृति दिवसका दिन मन्दिरको हाता वरिपरि वृक्षारोपण गरियो ।१४ वर्ष अघि तत्कालिन नेकपा माओवादीले दुल्लू गाविसका नेपाली काँग्रेसका गाविस अध्यक्ष पुर्णबहादुर भण्डारीलाई असोज १२ मा यही ठाउँमा ल्याएर हत्या गरेका थिए । आ– आफ्नो बडामा योजना लिने होडबाजीका कारण जीर्ण रहेको मन्दिरको बारे सुनुवाई भएन,भण्डारीले भने । मन्दिर नजिकै रहेको धर्मशाला स्थानीयबासीले भत्काई ढुंगा लिएकाले घर निर्माण गरेको निशाना मात्र रहेको छ र उक्त घरलाई तत्कालिन समयमा पुतली घर भनेर चिनिने गरेको थियो । ‘हाल भने, जताततै फोहोर ,पानी घैँटा, पार्कको ढोका टुट्दा अलपत्र ,रहेको छ । ‘ढोका नहुँदा साना केटाकेटी गएर दिशापिसाव गरेको पाईन्छ ।’
हालै नगरपालिकाले संरक्षण समिति बनाई नगरपालिकाले ४लाख बजेट छुट्याईएको छ । यसको बृद्धि विकास , र संरक्षणको लागि उक्त रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।