पौष, १० काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनैपनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनैपनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ–‘बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो । कुनैपनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नू/नगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनैपनि बाधा, अवरोध नगर्नू/नगराउनू ।’
सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा वि.सं. २०७६ असोज २७ गते प्रकाशित राजपत्रअनुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सन्चालन ऐन, २०१४ विपरीत भएको आदेशमा उल्लेख छ । अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।