मंसिर १० ,काठमाडौं । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे आजबाट छलफल हुँदैछ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार छलफल हुन लागेको हो ।
छलफलका लागि नेसनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासकको नेतृत्वमा २० सदस्यीय उच्चस्तरीय टोली काठमाडौँ आइसकेको छ । वार्तामा नेपाली टोलीको प्रतिनिधित्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गर्नेछन । बैठकमा प्रस्तावित सो रेलमार्गको ‘डीपीआर’ निर्माणलगायतका विषयमा छलफल हुने छ ।
बैठकले सो रेलमार्ग निर्माणको सम्बन्धमा थप स्पष्ट कार्यदिशा तय गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नेपाल‒चीन रेलमार्ग सहयोगसम्बन्धी हालसम्म चारवटा बैठक सम्पन्न भएका छन् । दुई देशबीच सन् २०१७ मा पहिलो पटक र सन् २०१८ मा दुईपटक छलफल भएका थिए ।
केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै सम्पन्न भइसेकेको छ । रसुवागढीदेखि काठमाडौँसम्म करिब एक सय किलोमिटर लामो हुने नेपाल चीन जोड्ने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग चीनको सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने बताइएको छ ।