भदौ ८, काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आइतबार राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको हो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएको छ । आइतबार अस्मिता कार्कीको बयान सकिएको छ । तर रबि लामिछाने र युवराज कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको थियो । आज १० बजेबाट पुनः बयान सुरु हुने छ ।
जसअनुसार भोलि विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन । निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको छ ।
पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म
पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म
उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म
दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म ।
यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्ने ऐनमा व्यवस्था छ । प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।