- खबर 24 नेपाल ब्युरो
चैत १२,महोत्तरी । सेवामा ब्यस्त हातहरु नामक गैससं को आर्थिक सहयोगमा रामगोपलपुर–४ महोत्तरीका असहाय, दलित तथा विपन्न परिवारका स्कूले बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेर फर्कनेक्रममा पास्टर धुब्रकुमार परियारमाथि आफूलाई भूमिगत माओवादी समूह भनेका यूवाहरुले मरणासन्न हुनेगरि कुटपीट गरेका छन् ।
श्रोतका अनुसार आफूहरुलाई भूमीगत माओवादी समूहका बताउने दुई ओटा मोटरसाइकलमा आएका चार जना यूवाहरुले धर्म प्रचारक र तँ डलरको खेती गर्ने भन्दै पास्टर परियारको मोटसाइकललाई एक्कासी बीच वाटोमा रोकी सर्लाहीको महेन्द्र राजमार्ग बाँके र फुलजोर बीचमा पर्ने जंगलको बीचमा कुटपिट गरेका थिए ।
घाइते पास्टर परियारले बताए अनुसार मधेसी मूलका जस्ता देखिने २५ देखि २८ सम्म उमेर समूहका चारजनाले त धर्म प्रचारक धु्रब परियार होइन, त सँग कति डलर छ भन्दै आइतबार साँझ करिव सात बजे कुटपिट गरेका थिए ।
नेपाल दलित संघ सर्लाहीका जिल्ला सभापति मदन विश्वकर्मा पनि अर्को मोटरसाइकलमा पास्टर परियारसंगै शैक्षिक सामग्री वितरण गरेर घर फर्किने क्रममा उक्त घटना भएको हो । अर्को मोटरसाइकलमा संगसंगै फर्किरहेका विश्वकर्मालाई भने आक्रमणकारीहरुले सामान्य कुटपिट गरेका थिए । आक्रमणकारीहरुको कुटपिटबाट छातीमा गहिरो चोट लागेको पास्टर परियारले बताए ।
डलरको खेती गर्ने भन्दै पास्टर परियारलाई चार जनाको अज्ञात समूहले कुटेर वेहोस पारेपछि साँझ करिव ७ बजे बीच जंगलमा छोडी आक्रमणकारीहरु फरार भएका थिए । घाइते पास्टर परियारलाई मदन विश्वकर्माले उपचारका लागि गढीमाई अस्पतालमा उपचारका लागि ल्याइ पु¥याएका थिए ।
हाल पास्टर परियार खतरामुक्त छन् । उनी काठमाडौस्थित समर्पित नेपाली मण्डलीका पास्टर हुन् । सेवामा व्यस्त हातहरु नामक गैससका अध्यक्ष समेत हुन् । यही संस्थाको सहयोगमा शैक्षिक सामग्री वितरणका लागि केही दिन अघि मात्रै पास्टर परियार काठमाडौंबाट सर्लाही गएका थिए ।
आक्रमणकारीहरुले आफूलाई ख्रीष्टियान धर्म प्रचारक भनेर कुटपिट गरे पनि शैक्षिक सामग्री वितरणकाक्रममा आफूले धर्म प्रचारको काम केही पनि नगरेको प्रष्टयाएका छन्