चैत १२, डोल्पा । जिल्ला वन कार्यालय, डोल्पाका कर्मचारीहरुले स्थानीय जग्गा धनीहरु तथा जडीबुटीका ठेकेदारहरुसँग मिली मोटो रकम लेनदेन गरेको खुल्न आएको छ ।
निजी हकभोगको जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात तयार गरी सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको जटामसी जिल्ला बाहिर लैजाने छोडपुर्जी इजाजत दिएको खुल्न आएको हो । यसै उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा उक्त जिल्ला वन कार्यालय, डोल्पाका ३ जना कर्मचारीहरुले निजी हकभोगको जग्गाबाट जटामसी संकलन गरेको भनी फर्जी कागजात तयार गर्ने गरेको पाईएको हो ।
सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको १,८५,९९६ के.जी. जटामसी जिल्ला बाहिर लैजान रु.१,४८,७९,६८०।– को छोडपुर्जी दिई, आफैं मुचुल्काहरु र प्रतिवेदन तयार गरी गैरकानूनी लाभ पुर्याउने, सरकारी सम्पत्तिको बदनियतसाथ हिनामिना हानि नोक्सानी गरेको देखिएकाले उनिहरु विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।