- सलिम अन्सारी
बैशाख १२,प्युठान। जिल्लामा बितेको दश महिनामा १ सय २५ जनाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्। जिल्ला अदालत प्युठानमा चालू आर्थिक वर्षको साउन देखी बैशाख सम्म दर्ता हुन आएका ३ सय २५ मुद्दामध्ये १ सय २५ वटा सम्बन्धविच्छेदका छन्। त्यस मध्ये २७ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।
सम्बन्ध बिच्छेदका ६७ मुद्दाको फस्र्योट भएको श्रेस्तेदार सीता रेग्मीले बताउनुभयो। ५८ सम्बन्धविच्छेदका लागि परेको मुद्दाको किनारा लाग्न बाँकी रहेको श्रेस्तेदार रेग्मिको भनाई छ । सम्बन्ध विच्छेद गराउन चाहने अधिकांश ४० वर्षभन्दा कम उमेरका छन् । जिल्ला अदालतमा दर्ता भएको सम्बन्ध विच्छेदको संख्याले समाज र परिवारमा पति–पत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाउँछ ।वैदेशिक रोजगारी, अशिक्षा, बहुविवाह, फोन र फेसबुकबाट प्रेम गरेर कम उमेरमै विवाह गर्ने कारण पनि सम्बन्ध विच्छेद गर्नेको संख्यामा वढेको हो ।’
सम्बन्ध बिच्छेद गराई पाउं भनेर निवेदन दिनेहरुको संख्या बढ्दो छ’,श्रेस्तेदार रेग्मीले भन्नुभयो’ सम्बन्ध बिच्छेद माग गर्न आउनेमा धेरै महिलाहरु नै हुन्छन।’धेरै जोडि बिबाह पछि आपसमा मेल नखाने भन्दै पछुताएर छुट्टिछन। उहाले भन्नुभयो।अदालत आउने धेरैजसो छोराछोरी सहितका महिलाले अंश सहितको माग दावी सहित सम्बन्ध बिच्छेदका मुद्धा दर्ता गराउन आउने गरेका छन।
गत आबमा जम्मा ४२६ थान मुद्धाको लगत भएकोमा ३२० थान फैसाला भइ १०६ थान मुद्धा सरिआएको र यस आ.ब.मा ३२५ थान मुद्धा दर्ता भइ जम्मा ४३१ थान पुगेको जिल्ला अदालत प्युठानले जनाएको छ । अदालतमा दर्ता भएका मध्ये २ सय ६१ वटा मुद्धाको फछ्र्यौट भइसकेको र १ सय ७० मुद्दा किनारा लाग्न बाँकी छन् । जिल्ला अदालतमा अंश, सम्बन्ध बिच्छेद, जबरस्ती करणी, जबरजीस्ती करणी उधोग, बाल विवाह, बहुबिबाह, गाली बेइज्जती, लेनदेन, कर्तब्य ज्यान, सवारी ज्यान, सार्वजनिक अपराध, कुटपिट लगायतका मुद्धा दर्ता हुने गरेको जनाईएको छ ।