काठमाडाैँ । जथाभावी तारका लट्ठाले गुजुल्टो परेका काठमाडौँका मुख्य सडक र गल्लीहरु हेर्दा अस्तव्यस्त र कुरुप देखिन्छन् । साथै बेलाबेला तार चुँडिएर वा खिइएर हुने आगलागी र करेन्टका दुर्घटनाको समाचार पनि आइरहन्छ । सडक र फुटपाथमै तुर्लुंग तार झुण्डिएका हुन्छन् । अब भने काठमाडौँका सडक र गल्लीमाथि देखिने तारका गुजुल्टाहरु व्यवस्थित बन्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ महानगरपालिका भित्रका बिजुलीका तारलाई भूमिगत बनाउने अभियान अगाडि बढाएका छन् । लोडसेडिङ अन्त्य गरेर आफ्नो व्यवस्थापकीय खुबी देखाइसकेका कुलमानले अब बिजुलीका तारलाई भूमिगत बनाउने र वितरण प्रणालीलाई समेत स्वचालित गर्ने कार्यका लागि ठेकेदार छनोट गरिसकेको बताएका छन् ।
घिसिङको महत्वकांक्षी योजनाको रुपमा अघि सारिएको यो अभियान सुरुमा काठमाडौँका केही मुख्य केन्द्रमा लागू गरिने भएको छ । सुरुआती चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका बिजुलीका तारलाई भूमिगत गर्नका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडलाई छनोट गरिएको हो । सो कामको ठेक्काका लागि सबैभन्दा कम रकम कबोल गरेको आधारमा केईआई छनोटमा परेको प्राधिकरणले जनाएको छ ।

विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरण गर्दै शहरी सौन्दर्य चुस्त दुरुस्त राख्ने लक्ष्यका साथ प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत प्रशारण प्रणालीलाई भूमिगत गर्न लागेकाे हाे ।
पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्रअन्तरगतका बालुबाटार, गोंगबु, सामाखुसी लगायतका क्षेत्रमा तथा रत्नपार्क केन्द्रअन्तर्गत वागबजार, असन, दरबारमार्ग लगायतका क्षेत्रमा तार भूमिगतको काम हुनेछ । यी क्षेत्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भूमिगत र अटोमेसन गरिने प्राधिकरणले जनाएको छ ।
यही फागुन ६ गते बोलपत्रको नतिजा सार्वजनिक गरिएको हो । प्राधिकरणले छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित सूचना जारी भएको २८ दिनभित्र ठेक्का सम्झौताका लागि उपस्थित हुन सूचना निकालेको छ ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तार व्यवस्थापन गर्नका लागि करिब ३ अर्ब ६० करोड रुपैयाँमा ठेक्का सम्झौता हुने बताइएको छ । यसैगरी रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम करीब ३ अर्ब १२ करोडमा सम्पन्न गर्ने बोलपत्रमार्फत पेश गरेको छ ।
यस अघि अनुमानित लागतभन्दा महंगो दरमा टेन्डर आएपछि सो पुरानो टेण्डरप्रक्रिया रद्द गरी प्राधिकरणले नयाँ टेन्डर खोलेको थियो । अब भूमिगत वितरण प्रणालीको कामहरु, डिजाइन, समान आपूर्ति, जडान र सञ्चालनलगायत ठेकेदार कम्पनीले गर्नेछ ।
ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठबाटै काम थाल्ने लक्ष्यका साथ तयारी भइरहेको मध्य तथा उत्तर काठमाडौँ (महाराजगञ्ज) का आयोजना प्रमुख अभिषेक अधिकारीले जनाएका छन् । उनका अनुसार कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता गरिने र ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्नेछ ।
तारहरु भूमिगत गरिएसँगै यी दुर्व वितरण केन्द्रअन्तर्गत क्षेत्रमा पर्ने करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गर्ने प्राधिकरणको योजना छ । यसका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याङ्क समेत राख्नका लागि बेग्लै केन्द्र स्थापना गरिनेछ, जसले ग्राहकको सम्पूर्ण गतिविधिका बारेमा जानकारी राख्नेछ ।