असोज ७, काठमाडौं । अपराध अनुसन्धानमा नेपाल प्रहरीको महत्वपूर्ण अंग मानिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीको टोली सातवटै प्रदेशमा परिचालन भएको छ । अपराध अनुसन्धानमा सहज हुने अपेक्षाका साथ सीआईबीले सातै प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरेको हो ।
नेपालमा हुने गरेका ठूला अपराधका घटनाको अनुसन्धान सीआईबीले गर्दै आएको छ । केन्द्रमा डीआईजीको मातहतमा रहने सीआईबी प्रदेशमा विस्तार भएपछि महत्वपूर्ण अपराधको अनुसन्धानमा सफलता प्राप्त हुने प्रहरी विश्वास छ ।
सीआईबीका प्रमुख डीआईजी निरज शाहीका अनुसार केन्द्रबाट परिचालन भएको टोली संघीय प्रहरी इकाईको संरचनाभित्र रहनेछ । संघीय प्रहरी इकाईको नेतृत्व एसएसपीले गर्दै आएका छन् । काम, कर्तव्य, अधिकार लगायतका विषयका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो नियमावली २०७६ स्वीकृतिका लागि गृह मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पेश गरिसकेको छ ।
डीआईजी शाहीले भने, ‘‘कतिपय प्रदेशमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरेका छौं भने केही प्रदेशमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा पनि टोली छ । यो सुरुवात हो । आवश्यक सबै प्रक्रिया पूरा भएपछि यसले संरचनागत रुप लेला । संघीय मातहत टोली रहे पनि निरीक्षण र सुपरीवेक्षण हामीले गरिरहेका छौं ।’’
मन्त्रीपरिषदमा पेश भएको प्रस्तावमा प्रदेशमा सीआईबीको नेतृत्व प्रहरी उपरीक्षक (एसपी)ले गर्ने उल्लेख छ । सीआईबीले गम्भीर प्रकृतिका अपराध, राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा सक्रिय संगठित अपराध, मानव बेचबिखन लगायत अतिसंवेदनशील घटनाको अनुसन्धान गर्दै आएको छ । सीआईबीले देशका जुनसुकै क्षेत्रमा हुने अपराध अनुसन्धानका लागि टोली पठाउन सक्ने व्यवस्था छ । प्रदेशमै सीआईबीको टोली भएपछि अब सीआईबीले कतिपय घटनाको अनुसन्धान प्रदेशकै टोलीबाट गर्नेछ भने आवश्यक परेमा केन्द्रबाट सहयोगका लागि टोली पठाउन सक्नेछ ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले प्रदेशमा सीआईबी परिचालनबाट तल्लो तहसम्मै अपराध अनुसन्धानमा ठूलो सहयोग पुग्ने र सफलता हात पर्ने बताए । डीआईजी पोखरेलले भने, ‘‘सीआईबीको दक्षता, क्षमता र व्यावसायिकताका कारण गम्भीर प्रकृतिका अपराधको अनुसन्धानमा सफलता हासिल गर्ने हाम्रो विश्वास छ । सीआईबी टोलीको सहकार्य तल्लो तहका प्रहरी इकाइसँग समेत हुने भएकाले यसले प्रहरी संगठनकै र समग्र राष्ट्रकै हितमा काम गर्छ ।’’