• २०८१ जेष्ठ ११ गते शुक्रवार

दुई दिनमा २० हजारले लिए बस टिकट

पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं । नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले बस टिकट लिएका हुन् ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २६ गते भएको निर्णयअनुसार यही असोज ५ गतेदेखि लामो दूरीका सवारी साधनका लागि बस टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले लामो दूरीका सवारीसाधनलाई मात्र बस टिकट खुलाइएकामा आइतबार १४ हजार र सोमबार छ हजार यात्रुले बस टिकट लिएका जानकारी दिए ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङलगायत क्षेत्रमा जाने सवारीसाधनका लागि भने असोज १० गतेदेखि बस टिकट बुकिङ खुलाइने महाप्रबन्धक कुँवरले बताए । टिकट बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म वितरण गर्ने गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए । “दशैँमा झण्डै २५ लाख हाराहारीमा यात्रु उपत्यका बाहिरिने भएकाले हामीले सवारीसाधनको राम्रो व्यवस्था मिलाएका छौँ”, उनले भने  ।

प्रतिक्रिया दिनुहोस