साउन ८, काठमाडौं । झापा– प्रहरीले शरीर बन्धक बनाइ ४० लाख फिरौंती माग्ने चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मामा भाञ्जा ग्यारेज सञ्चालक विर्तामोड नगरपालिका वडा नं. ४ बस्ने २९ वर्षका मेराज खान, ईलाम फाकफोकथुम गा.पा.वडा नं. १ घर भइ हाल झापा विर्तामोड नपा वडा नं. २ चारपाने बस्ने २० बर्ष २० की रितु फियाक लिम्वु, बिर्तामोड नपा वडा नम्बर ४ बस्ने सुजन विक (भारत दार्जिलिङ्ग जिल्लाबाट सञ्जु क्षेत्री नामबाट आधार कार्डसमेत बनाएको) र भारत किसनगञ्ज घर भई झापा विर्तामोड नगरपालिका वडा नं. ४ का २५ बर्षका प्रकाशदास (मेराज खानको मामा भाञ्जा ग्यारेजमा काम गर्ने कामदार ) रहेका छन् ।
उनीहरुले झापाको बिर्तामोड नगरापालिका वडानम्बर ४ मा व्यवसाय गरी वस्ने एक व्यवसायीलाई नियन्त्रणमा लिई कुटपिट गर्दै नाङ्गै बनाएर खिचेको भिडियोलाई सामाजिक सञ्जालमा भाइरल बनाइदिने धम्की दिई चालिस लाख मागेका थिए ।
उनीहरुले श्रावण ५ गतेसम्म दिने शर्त राखेर फिरौंती रकम नदिए ज्यान मार्ने धम्की समेत दिएका थिए । पीडितले साउन ३ गते घटनाबारे प्रहरीमा उजुरी दिएपछि १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले मिति साउन ५ गते चारालीबाट पक्राउ गरेको हो । पक्राउपछि उनीहरुलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अन्य अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुबाट बा. १५ च ७३३९ नम्वरको कार(१, स्कुफ लेखिएको १०० मि.लि. को शिलप्याक बोतल थान(३, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की, निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लाष्टीकको पेस्तोल जस्तो देखिने बस्तु बरामद गरेको छ ।