• २०८१ फाल्गुन २ गते शुक्रवार

ट्यांकरको ठक्करबाट शिक्षकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असार ९, विराटनगर । कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकाको गंगाचोकमा इन्धन बोक्ने ट्यांकरको ठक्करबाट सोमबार बिहान ११ बजे एकजना शिक्षकको मृत्यु भएको छ ।

सिरहामा डिजेल पुर्‍याएर विराटनगर फर्कंदै गरेको ना ४ ख १९०५ नम्बरको ट्यांकरले ठक्कर दिंदा सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएका २९ वर्षीय सन्दीप पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको ट्यांकरले विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको पौडेलले चलाएको को २६ प ३०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

उनका अनुसार बुढीगंगा–१ र २ को सीमानामा रहेको गंगाचोकमा अगाडि रहेको ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि विराट टिचिङ अस्पतालमा पुर्‍याउन साथ पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी विराटनगरमा आईटी सम्बन्धी पढाइ हुने हिमालय कलेजका शिक्षक हुन् । कलेजमा पढाएर इटहरीस्थित घरतर्फ फर्कंदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्यांकर र चालक सिरहा अरनमा गाउँपालिका–१ का ३० वर्षीय तपेश्वकुमार महतो कोइरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस