असार ९, वीरगञ्ज । मदिरा सेवन गरेर प्रहरीलाई नै हातपात गर्ने ७ जना भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरि प्रहरीलाई हातापात गर्ने भारत बिहारको मैनाटाड थाना वडा नम्बर १ बस्ने सनि कुमार पटेल, सत्यम साह, धनन्जय कानु, बिरिन्ची सिंह, अलोक सिंह, सन्दिप कुमार पटेल र सन्जित कुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु सातैजनाले मदिरा सेवन गरि पर्साको जिरा भवानी गाउँपालिकाको महादेवपटीमा रहेको प्रहरी चौकीका प्रहरीमाथि हातपात गरेको महादेवपटी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पवन झाले बताए ।
भारत बिहारबाट नेपालमा मदिरा सेवन गर्न आएका भारतीय युवकहरुले आइतबार साँझ ठोरी गाउँपालिकाको सुवर्णपुरमा अत्यधिक मदिरा सेवन गरि घर फर्कि रहेका थिए ।
सोहीक्रममा प्रहरी सहायक निरीक्षक पवन झा नेतृत्वको प्रहरी टोलीले उनीहरु चढेको मोटरसाइकल रोकी चेकजाँच गर्नेक्रममा भारतीय युवकहरुले प्रहरीमाथि नै हमला गरको झाले बताए ।
पक्राउ परेका सातै जना युवकलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्सा प्रहरीले जनाएको छ ।