पौष ७, काठमान्डौं । गीतकार तथा संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ। संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका उनका दर्जनौँ चर्चित गीत रहेका छन्।
गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरु’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो। मधुमेह र मृगौला रोगबाट पीडित उनी लामो समयदेखि उपचाररत थिए। सुक गुरुङ उपचार सहयोग समितिका संयोजक जगन गुरुङका अनुसार देश विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीबाट ५५ लाख रकम संकलन गरेर उपचार गर्दा पनि उनलाई बचाउन सकिएन। उनकी श्रीमती जुनासहित दुई छोरा र एक बुहारी रहेका छन्।