भदौ ६। सुनसरी । नापी कार्यालय इनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
नापी कार्यालय इनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदारले जग्गा नापजाँच गरी नक्सा सुधार गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निजहरू सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदारलाई सेवाग्राहीसँग रू।११,००० ।– घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निज सर्वेक्षक मागैन महतोले जग्गा नापजाँच गरी नक्सा सुधार गरिदिने प्रयोजनको लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी, विभिन्न बरबहाना बनाई आफूले गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई अप्ठेरोमा पारी घुस रिसवत दिन बाध्य बनाएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको स-प्रमाण पुष्टि भएकोले निजलाई विगो रू.११,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिइएको छ ।
यस्तै लेखापढी व्यवसायी रामनारायण पोदारले घुस रिसवत बापतको रकम लिने सम्बन्धमा सर्भेक्षक मागैन महतोसँग सर(सल्लाह सहमति गरी आफुले गर्न नसक्ने जग्गा नापजाँच गरी नक्सा सुधार गर्ने कार्यको आफूले जिम्मा लिई घुस बापतको रू.११,०००।– बुझी लिएको देखिँदा लेखनदास रामनारायण पोदारको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको स-प्रमाण पुष्टि भएकोले उनलाई विगो रू.११,०००। कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिईएको छ ।
उनिहरु दुबैलाई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाउनु भयो ।