असार ८, काठमाडौं । चलचित्र क्षेत्रमा आफनो छुटै क्रेज बनाउन सफल नायक निखिल उप्रेती मुम्बई पुगे ।
नायिका संचिता लुइटेलसँग बिहे गरेर उनी मुम्बइ पुगेका थिए ,तर उनी करिब ५ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किए । उनको कमब्याक दमदार हुने अपेक्षा गरिएको थियो ।
निखिलले आफ्नै निर्देशनमा ‘भैरव’ चलचित्र बनाएपनि त्यो चलचित्रले उनको कमब्याकको अपेक्षा पुरा गर्न सकेन । यसपछि उनले ‘लुटेरा, निर्भय, राधे, पिंजडा व्याक अगेन, रुद्र, सम्बोधन’ लगायतका असफल चलचित्रमा काम गरे ।
लगतार चलचित्रको असफलतापछि निखिललाई पनि झट्का लाग्ने नै भयो । उनी पुनः आफ्नै निर्देशनमा विश्वास गरेर नयाँ चलचित्र ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को घोषणा गरे । केही भारतीय कलाकार पनि रहने भनिएको यो चलचित्रको मुख्य पात्र उनै थिए । लगानी र निर्देशन पनि उनैको थियो ।
तर, चलचित्रको छायांकन पूरा भएन । लगभग आधा काम सकेपछि पैसाको अभावमा चलचित्रको छायांकन रोकिएको थियो । अहिले पनि उक्त चलचित्रको छायांकन अन्योलमा नै छ । यस्तैमा, अहिले निखिल उप्रेती नयाँ चलचित्रको काममा लागेका छन् । उनी अहिले चलचित्र ‘भैरव’को सिक्वेलको रुपमा ‘आयो भैरब’को तयारीमा जुटिरहेका छन् । अहिले चलचित्रको प्री–प्रोडक्सनको काम भइरहेको छ ।
यो चलचित्रलाई निखिल आफैले लेखिरहेका पनि छन् । यो चलचित्र पनि इमान्दार प्रहरी अफिसर्सकै कथामा बन्नेछ । निखिल भन्छन्–‘आयो भैरवमा तराईबाट सरुवा भएर काठमाडौं आएको भैरवको कथा प्रस्तुत हुनेछ । र, काठमाडौंमा हुने गतिविधिमाथि औला उठाउने छ ।’
अहिले चलचित्रको लागि अन्य कोही कलाकार पनि पक्का भएका छैनन् । निखिलले भने, ‘हामी पहिला स्क्रिप्टको काम सकेर मात्र कलाकार छनोटमा लाग्नेछौ । कलाकार फाइनल भैसकेपछि मात्र औपचारिक घोषणा गर्ने उनको तयारी छ ।
निरन्तर असफल चलचित्र दिएपछि निखिल करिअरलाई लिएर गम्भिर बनेका छन् । तर, ‘आयो भैरव’को व्यापारले उनको करिअरलाई कुन कोणबाट अगाडि बढाउने भन्ने निर्णय गर्नेछ ।