जेठ ९, बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलको एक घरमा अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरिएको छ ।
उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् । घटना बुधवार राती भएपनि बिहान मात्र घटना सार्वजनिक भएको थियो । घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा प्यारालाइसिसकी बिरामी आमा बस्ने गरेकी थिइन ।
टाउकोमा धारिलो हतियारको चोट लागेकी घाइते आरतीलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल लगिएको र सामान्य घाइते अवस्थाकी उनकी छोरी अर्पणालाई तत्काल संरक्षणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।
जेठ ७ मात्र पाँचथरमा २ परिवारको ९ जनाको हत्या भएको छ । एक बालिका घाइते भएकी छिन् भने जो हत्याको आरोपी भनिएका कानिस समेत आत्महत्या गरिएको अवस्थामा भेटिएका थिए ।