भक्तपुर, चैत ९ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको छ ।
यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षामा प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२, गण्डकी प्रदेशबाट ४८ हजार ६३,प्रदेश नं ५ बाट ७६ हजार ९८३, सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।