भाद्र ५, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा चीनको ‘सिनो हाइड्रो’ कम्पनीले पाएको छ । गत वर्ष पुस ३ गतेबाट इटालीको सीएमसी कम्पनीले काम छोडेपछि ठप्प रहेको आयोजनाको काम तत्काल सुचारु गर्न डेढ महिनाअघि मन्त्रिपरिषद् बैठकले फास्ट ट्र्याकबाट टेन्डर प्रक्रिया अघि बढाउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएको थियो ।
समितिले खोलेको टेन्डरमा हाइ हिमालय हाइड्रो र सिनो हाइड्रो कम्पनीले प्रतिस्पर्धा गरेका थिए । टेन्डरमा सिनो हाइड्रो छनोट भएको समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए । सिनो होइड्रो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना निर्माण गरेको क्षमतावान कम्पनी रहेको समितिले बताएको छ ।
“अब सिनोसँग आयोजना निर्माण सम्झौता चाँडै नै हुन्छ,” प्रवक्ता पन्तले भने । कानुनअनुसार २८ दिनभित्र सम्झौता गर्न सकिने प्रावधान भए पनि मन्त्रिपरिषद्ले फास्ट ट्रा्याकबाट ठेक्का लगाउन भनेकाले चाँडै नै सम्झौता हुन लागेको हो ।
आयोजनाको बाँकी काममा अम्बाथानमा हेर्डवक्र्स निर्माण र सुरुङ फिनिसिङको काम बाँकी रहेका छन् । बाँकी काम सक्न २ अर्ब १२ करोड रुपैयाँ लाग्ने समितिले बताएको छ ।