सरकारले जग्गा अधिग्रहण गर्ने गरेको सडक, विद्युत्, खानेपानीलगायत आयोजना, परियोजनाका कार्यालयलाई यस विषयको कामकारबाहीबारे जानकारी दिन आयोगले सबै मन्त्रालयलाई पत्राचार गरिसकेको छ । मौजे पशुपति जनिएका तर हराइरहेका पशुपतिनाथको २३१ रोपनी जग्गाको विषयमा पनि यही सेरोफेरोमा अध्ययन थालिएको पशुपति क्षेत्र विकास कोषका अधिकारीले जानकारी दिएका छन् ।
अध्ययनपछि यसको विवरण आयोगमा प्रस्तुत हुन्छ । शङ्खमूल, पाटन दरबारस्थित ठूलो घण्ट आसपासका गुठी जग्गा, मैतीदेवी मन्दिरका जग्गालगायत देवस्थलका जग्गाको पनि अध्ययन थालिएको छ । गुठी संस्थानले जनकपुरमा गुठीको पचासौँ बिघा जग्गा अतिक्रमण गरेको विवरण आयोगसमक्ष पठाएको छ । संस्थानका प्रशासक नारायण चौधरीका अनुसार काठमाडौँ कमलपोखरीको उत्तरी सीमा मिचिएको विषयमा पनि आयोगमा पत्र दर्ता गरिएको छ ।
संस्थानले विभिन्न समयमा जग्गा अधिग्रहण गर्दा सरकारले तिर्न बुझाउन बाँकी ३१ अर्ब रुपियाँ बक्यौता रहेको पनि आयोगलाई जानकारी दिएको छ । गुठी संस्थानको अभिलेखअनुसार काठमाडौँमा मात्र लालमोहर, सनद, सवालअनुसार आधा दर्जनजति गुठीका पोखरी मिचिएको वा लोप भएको विवरण छ ।
काठमाडौँ महानगरपालिको वडा नं. ११ कार्यालय त्रिपुरेश्वरमा र ट्राफिक प्रहरी कार्यालय, कमलपोखरीमा वडा प्रहरी प्रभाग र युवा क्लब, नन्दीकेश्वर बहालमा स्थानीय क्लब, वनकालीमा वनकाली धर्मशाला लगायतका गुठी सम्पत्ति अर्कैको भोगचलनमा रहेको संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले तयार पारेका हुन ।