• २०८२ जेष्ठ ७ गते मङ्गलवार

प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा भन्सारबाट लागुऔषध तस्करी गर्ने ७ जना पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट
  •  सागर थापा/महेन्द्र सिंह

जेठ ८, नेपालगन्ज  । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध ओसारपसारमा संलग्न ब्यक्तिहरुमाथि निगरानी बढाएसगैं लागुऔषधसहित पक्राउपर्नेको संख्या पनि बढेकोछ ।

खुला सीमानाको भरपुर फाइदा उठाउदै लागुऔषध ओसारपसार हुने नेपाल–भारत सीमानाकामा प्रहरीले कुकुरको सहारामा निगरानी बढाएकोहो । प्रहरीले कुकुरको सहयोगमा निगरानी बढाएसगैं लागुऔषधसहित पक्राउ पर्नेहरु पनि बढेका छन् । कुकुरको सहयोग लिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नम्बर ५ नेपालगन्जले सोमबार लागूऔषधसहित सात जनालाई पक्राउ गरेकोछ । नेपाल–भारत नाका जमुनहाबाट लागूऔषध सम्बन्धि विज्ञ कुकुरको सहयोग लिदाँ लागुपदार्थसहित सात जनालाई नियन्त्रणमा लिएको ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । थापाले लागूऔषधको विज्ञ ‘गौरी’ नामक पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको बताए ।

कुकुरको सहायतामा प्रहरीले १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका आदिल मियाँ, दाङ घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का, नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर सहित उनीहरुलाई नियन्त्रणमा राखिएकोछ ।यस्तै नेपालगन्ज– १८ भुजईगाउँका किशोरकुमार धोवीबाट ४ ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पासमो र एक बोत्तल अल्टोरेक्स प्रहरीले बरामद गरेकोहो । प्रहरीले सोमबारनै कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताए । हरिजनको साथबाट ३९ ट्याब्लेट नाइट्रो भ्याट बरामद गरेको छ । हरिजनलाई पोलिथिन झोलामा रहेको चनाभित्र लुकाएर भारतीय बजार रुपैडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नेपाल आउदै गरेका थप दुई जनाबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ ।

पक्राउ परेका दुवैजनालाई अभिभावकको जिम्मा लगाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।नेपाल–भारत सीमाना जमुनाहमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले कुकुरको सहयोग लिएपछि लागुऔषधसहित पक्राउपर्नेहरुको संख्या बढेको हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले हालसम्म बाँकेमा बैशाख महिनामा मात्र २२ मुद्दा चलाउदै २९ जनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएकोछ । ब्यूरो अन्र्तगत बाँकेमा १० जनाको टोली लागुऔषध नियन्त्रणमा सक्रिय छ

प्रतिक्रिया दिनुहोस