• २०८१ चैत्र २ गते आइतवार

महेश बस्नेत भन्छन – “नेमकिपाले भक्तपुरमा जनताको भाग्य र भविष्यसँग जोडिएका कुराहरुलाई खेलवाड ग¥यो”

पढ्न लाग्ने समय : ४ मिनेट

सर्वश्री बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले नेमकिपाले आधुनिक प्रविधिलाई लत्याउँदै पुरानो सोच र विचारलाई आत्मसात् गर्दै सामन्ति सोचलाई विकास गर्दै गएको बताउनुभयो । नेमकिपाले भक्तपुरमा इट्टाभट्टालाई संरक्षण तथा ढललाई हनुमन्ते नदीमा मिसाई वातावरणलाई चरम रुपमा प्रदुषित पारेको बताउनुभयो । वातावरण प्रदुषित गर्न सक्ने तर सफा गर्न नसक्ने नेमकिपाले अरुले गरेको अभियानलाई समेत रोक्ने कुचेष्ठा गरेकोमा आक्रोस व्यक्त गर्नुभयो ।

नेमकिपाले भक्तपुरमा जनताको भाग्य र भविष्यसँग जोडिएका कुराहरुलाई खेलवाड गरेको बताउनुभयो । प्रदेशको राजधानी, रंगशाला, स्मार्ट सिटीलगायतका राष्ट्रिय गौरवका कार्यहरु भक्तपुरमा नचाहिने भन्दै एक दुई दर्जन मानिसलाई सडकमा उतारी विरोध गर्ने गरेको बताउनुभयो ।
नेमकिपाले सैद्धान्तिक कुरामा सच्याउन जरुरी रहेको औल्याउँदै सैद्धान्तिक रुपमा परिवर्तन गरे देशभर फैलिएला तर परिवर्तन नगरे अहिलेको ठाउँबाट पनि जनताले लखेट्छन् चेतावनी दिँदै उहाँले नेमकिपाले सामन्तवादको विरोध गरिरहँदा आफुभित्र रहेको सामन्तवादको अन्त्य गर्न जरुरी रहेको औल्याउनुभयो ।

नेमकिपाले खसिको टाउको देखाएर सुँगुरको मासु बच्ने जस्तो प्रवृक्तिको अन्त्य गर्नुपर्ने बताउँदै उहाँले पुरानै नेतृत्वले नेमकिपामा हुने गरेकाले अन्य नेता तथा कार्यकर्ता अवसर नपाउने ठोकुवा गर्नुभयो । उहाँले नेमकिपाले संसदमा विकास निर्माण तथा कुनै पनि योजनाको वारेमा छलफल नगर्ने तर जस्तोसुकै राम्रो कानुन बनाए पनि सधै सदनको प्रतिपक्षी भएर मात्र बस्ने गरेको समेत जानकारी गराउनुभयो ।

नेमकिपालाई भक्तपुरको विकासमा सहयोग गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘सक्नुहुन्छ भने भक्तपुरको विकासमा नेमकिपाले सहयोग गरोस्, यदी सहयोग गर्दैन भने अरुले गरेको विकासमा असहयोग पनि नगरोस् । भक्तपुरमा विज्ञान र प्रविधिको विकासको प्रयोग गर्दै नयाँ नयाँ उद्योग, कलकारखाना खोल्न आवश्यक रहेको भन्दै पुरानो प्रथालाई संरक्षण गर्दै भ्रमको खेती नगर्न आग्रह गर्दछु ।’

हामीले ल्याएको बजेटलाई आफुले ल्याएको भनेर जनतामा भ्रम छर्ने काम नगर्न आग्रह गर्दै उहाँले भक्तपुरको विकासमा नेमकिपाको टाउको दुःखाई भएको बताउँदै भक्तपुरको विकासमा नेमकिपाको टाउको किन दुख्छ ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘कव्जा गर्ने नीति छोड्नुहोस्, यो अब टिक्नेवाला छैन । कानुनभन्दा माथि कोही छैन । राजनीतिक चस्मा लगाएर आउनुभएको छ भने मैले केही भन्नु छैन । राजनीतिक चस्मा खोलेर हेर्नुस् । त्यहाँ तपाईको एउट पनि जग्गा हराउने छैन । कसैलाई काखा कसैलाई पाखा हुने छैन । तपाईको भविष्य उज्वल हुँदैछ । सत्यको चस्मा लगाउनुभएको छ भने विकासमा हातेमालो गर्नुस् ।’

अब भक्तपुर विकास विना बस्न नसक्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले अब सिंहदरवारलाई भक्तपुरले खोज्ने हैन, सिंहदरवारले भक्तपुर खोज्न थालेको बताउनुभयो । उहाँले जग्गा एकिकरणको माध्यमबाट सवैको जग्गा संरक्षण हुने बताउँदै भन्नुभयो, ‘हनुमन्ते नदीको कोरिडोर भक्तपुर नगरपालिकामा निर्माण गर्न नगरपालिकाले नै अवरोध गरेको छ । भक्तपुरका जनताले आफ्नो कारलाई सूर्यविनायक तथा मध्यपुरमा साथीको घरमा रोकेर जाने अवस्था भक्तपुर नगरपालिकाले नगरोस्, जनताको विकास प्रतिको चाहनामा कुठाराघात नहोस् ।’

सहकारी मुलुकको विकासको सारथी रहेको बताउँदै उहाँले जनतालाई रोजगारी, आत्मनिर्भर, उद्यमीलगायतका बनाउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सहकारी बैंकको विकल्पको रुपमा स्थापीत भएको उहाँले बताउनुभयो ।

मुलुकको विकास र समृद्धि देख्न नचाहनेहरुले संविधानको विरोध गरेको बताउँदै उहाँले भन्नुभयो, ‘यहि संविधानको उपयोग गरी चुनावमा भाग लिने, उप्रधानमन्त्री बन्ने, मुख्यमन्त्री बन्ने, मन्त्री बन्ने, सांसद बन्ने अनि संविधानलाई चाही कालो दिनको रुपमा मनाउने ? संविधान दिवसलाई नमनाउने भए राजकीय र शासकीय पद त्याग्नुपर्छ । नत्र विरोध संविधानलाई कालो दिनको रुपमा मनाउन उनिहरुलाई छुट छैन ।’

संविधानको संरक्षण तथा उपयोग नै समृद्धिको आधार भएको बताउँदै उहाँले संविधानले मानिसमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सयौं मौलिक स्वतन्त्रता रहेको जानकारी गराउनुभयो । पहिलो वर्ष आधार वर्षको रुपमा रहेको र यो वर्ष समृद्धिको वर्ष हुने बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरमा अघिल्लो वर्षदेखी नै समृद्धिको वर्ष शुरु भइसकेको बताउँदै भक्तपुरमा स्मार्ट सिटी, आधुनीक वीर अस्पतालको निर्माण, आधुनिक सभागृह, प्राणी उद्यान केन्द्र, रंगशालालगायतका राष्ट्रिय गौरवका कार्य तिव्र गतिका साथ अघि बढेको छ ।’

भक्तपुरमा भइरहको विकास निर्माणका कार्यहरुको जानकारी गराउँदै हनुमन्ते नदीको कोरिडोर अब तिव्र गतिका साथ निर्माण गरी दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठोकुवा गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुरका ठाउँ ठाउँमा सडक, ढल, खानेपानी, पुल, करिडोरलगायतका धेरै विकास निर्माणका कामहरु भइरहेको छन् । विकासका क्रममा जनता प्रति पर्न गएको दुःखप्रति क्षमा चाहन्छ । यो क्षणीक दुःख हो । यसले दिर्घकालिन रुपमा सुख प्रदान गर्छ । जसबाट तपाईले सवै दुःखहरु विर्सनुहुनेछ ।’

जनतानै सवैभन्दा ठूलो शक्ति रहेको बताउँदै उहाँले जनताको चाहना र आवश्यकता अनुसार देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताको भावनालाई चोट पुग्न दिने छैनौं, शिर निहुरियाउनु पर्दैन, भक्तपुरको शान राष्ट्रभरी उच्च बनाएर राख्नेछौं ।’

प्रतिक्रिया दिनुहोस