असोज ०४,दैलेख । कर्णाली प्रदेशमा बसोवास गर्ने राउटे समुदाय संविधान दिवसमा सहभागी भएका छन् । कर्णाली प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा राउटे समुदायले मौलिक नृत्य प्रस्तुत गरे ।
बिहीबार सरसफाइ, मैत्रीपूर्ण फुटबल, रक्तदानलगायत कार्यक्रम आयोजना गरिएको थियो। शुक्रबार प्रभातफेरीलगायत कार्यक्रम भएका थिए। संविधान दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निरासा उत्पन्न गराउँदै संविधान कार्यान्वयनमा समस्या खडा गर्न लागिपरेका तत्व सक्रिय भएको बताए । उनले भने, ‘संविधान कार्यान्वयनका लागि तीनैतहका सरकार लागिपरेका छौं। जनताको तीव्र विकासको चाहना पूरा भएरै छाड्छ।’
संविधान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले तीनदिने कार्यक्रम आयोजना गरेको छ। तेस्रो दिन शनिबार वृक्षारोपण तथा दीपावली गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी केशवप्रसाद उपाध्यायले जानकारी दिए।