• २०८२ बैशाख ६ गते शनिवार

एकचौथाइ कलेजोको भरमा बाँचिरहेका छन् अमिताभ बच्चन

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ४, काठमाडौं । प्रख्यात भारतीय कलाकार अमिताभ बच्चन स्वयम्लाई आठ वर्षसम्म क्षयरोग भएको थाहा थिएन । एनडीटीभीको ‘स्वास्थ्य इन्डिया’ कार्यक्रमको शुभारम्भका क्रममा गरिएको कुराकानीमा उनले आफूलाई क्षयरोगले सताइसकेको बताउँदा उनलाई कुनै अप्ठेरो नलागेको पनि स्पष्ट पारे ।

७६ वर्षीय यी मेगास्टार पोलियो, हेपाटाइटिस–बी, क्षयरोग तथा डायबिटिजजस्ता रोगबारे चेतना अभियानमा जोडिएका छन् । उनले मानिसहरुलाई यस्ता रोगको जाँच गराउन र त्यसको उपचार गर्न अपिल पनि गरेका छन् ।

कार्यक्रममा उनले नियमित स्वास्थ्य परीक्षण गराउन जागरुक बन्न सक्दा कुनै पनि रोगबारे बेलैमा थाहा हुने र उपचार सहज हुने पनि बताए । बच्चनले भने, ‘‘म सधैंजसो आफ्नै उदाहरण मानिसहरुसामु प्रस्तुत गर्ने गर्छु । र, यो कोसिस गर्छु– तपाईंहरु सबैलाई स्वास्थ्यप्रति जागरुक बनाउन सकूँ । मलाई सार्वजनिक रुपमा आफूलाई क्षयरोग र हेपाटाइटिस–बी लागिसकेको बताउँदा नराम्रो लाग्दैन ।’’

उनले नियमित स्वास्थ्य परीक्षण र उपचारमा जोड दिए । ‘‘शरीरमा खराब रगत प्रवाह भइरह्यो र मेरो लिभर (कलेजो) को ७५ प्रतिशत काम नलाग्ने भयो । तर पनि रोग पत्ता लगाउन सफल भएँ, यसैकारण आज २० वर्षपछि पनि बाँकी रहेको २५ प्रतिशत राम्रो लिभरको भरमा म बाँचिरहेको छु,’’ बच्चनले भने ।

प्रतिक्रिया दिनुहोस